मंगलबार देखी अदानचुलीमा राष्ट्रिय परिचयपत्र बनाउन विभागको टोली आउँदै ।।


 राष्ट्रिय परिचयपत्र बनाउनको लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको टोली अदानचुलीमा आउने भएको छ ।

छिल्लो समय नेपाल सरकारले सबै निकायमा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेपछि नागरिकलाई सास्ती भैरहेको समयमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको आग्रहमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको टोली हुम्ला जिल्लाको तल्लो क्षेत्र ताँजाकोटमा बैशाख २८ गतेबाट वडा वडामा गएर राष्ट्रिय परिचय पत्र बनाइ रहेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।

हरेक गाउँमा ९० प्रतिशत भन्दा धेरैले परिचय पत्र नबनाएकाले विभागको टोलीले हरेक दिन ७० देखी ८० को हाराहारीमा परिचय पत्र बनाइरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनु भयो । विभागको टोलीले प्रतिदिन ६० वटा बनाउने भएपनि यो टोलीले प्रतिदिन ७० देखी ८० को हाराहारीमा परिचय पत्र बनाउने गरेको बताउनु भयो ।

ताँजाकोटबाट सुरु गरिएको उक्त शिविर जिल्लाका सात वटै गाउँपालिका पुग्ने भनिएपनि समय धेरै लाग्ने भएकाले पञ्जिकरण विभागमै गएर अदानचुलीको लागि अर्को टोली नेपालगञ्जबाट हुम्ला हुँदै आज (सोमबार) गाउँपालिकामा पुग्ने गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताउनु भयो । उनले भने धेरै पटक प्रमुख जिल्ला अधिकारीलाई पनि भने उहाँले पनि ताखेता लगाउनु भयो र म आफैले पनि हरेक दिन विभागलाई भने पछि बल्ल पठाई दियो ।

कुन गाउँपालिकामा कति दिन बस्ने भन्ने कार्यतालिका नभएपनि टोली आज गाउँपालिका पुगेपश्चात छलफल गरेर हरेक वडामा गई शिविर सञ्चालन गर्ने भएको अध्यक्ष सिंहले बताउनु भयो ।

जिल्ला सदरमुकाम सिमकोट नजिकका र इलाका प्रशासन कार्यालय सर्केगाडका अधिकांसले बनाई सकेको भएपनि जिल्लाको तल्लो क्षेत्र अदानचुली, ताँजकोट र चंखेली गाउँपालिकामा ९० प्रतिशत भन्दा धेरै परिचय पत्र बनाउनबाट बन्चित भएका छन् । पछिल्लो समय बैंकिङ कारोबार गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि जेष्ठ नागरीक, एकल महिला तथा उपाङ्गता भएका व्यक्तिहरुको लागि तत्काल आवश्यक परेकाले यो शिबिर सञ्चालन गर्न सबै स्थानीय तह बाध्य भएका हुँन् । –––कालीबहादुर थापा

प्रकाशित मितिः     २७ जेष्ठ २०८२, सोमबार ०९:३८  |