अकोराबले बुझायो शिक्षा मन्त्रीलाई ज्ञापनपत्र


बैशाख २३ काठमाडाै । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले बन्दाबन्दीको समयमा सामुदायिक रेडियोमार्फत विद्यार्थीलाई पठनपाठन गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै अकोराबले सामुदायिक रेडियोको प्रभाव दुर्गम बस्तीसम्म भएको र पहुँच पनि सर्बसुलभ भएकाले सामुदायिक रेडियोबाटै पठनपाठन गराउन आग्रह गरेको हो ।

अकोराबका अध्यक्ष सुवास खतिवडाले शिक्षा मन्त्री पोखरेलसमक्ष ज्ञापनपत्र बुझाउनुभएको हो ।

कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमण रोकथामका निम्ति सरकारले गरेको लकडाउनका कारण विद्यालय बन्द भएको र लाखाँै बालबालिका घरमै बसिरहेको अवस्थामा उनीहरूलाई लक्षित गरी सामुदायिक रेडियोहरूबाट शैक्षिक कार्यक्रम गर्न सकिने र त्यसका लागि देशभरका ३ सय ६० सामुदायिक रेडियो तयार रहेको पनि अध्यक्ष खतिवडाले बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले सबै नागरिकको पहुँचमा सामुदायिक रेडियोहरू भएकाले त्यसैअनुसार कार्ययोजना बनाएर पठनपाठन अघि बनाउने तयारी भइरहेको बताउनुभयो । कतिपय रेडियोले स्थानीय सरकारसँग मिलेर अहिले पनि शैक्षिक कार्यक्रम उत्पादन गरिरहेको स्मरण गर्दै उहाँले अहिलेको अवस्था सामुदायिक रेडियोको विकल्प नरहेको बताउनुभयो ।

ज्ञापनपत्र बुझाउने क्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। तुलसी थपलियाले रेडियोबाट पठनपाठन कसरी गर्ने भनेर विज्ञ तहमा छलफल भइरहेको र कार्ययोजना बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले स्थानीय सरकारले स्थानीयस्तरमा रहेका सामुदायिक रेडियोसँग साझेदारी गरेर शैक्षिक कार्यक्रम उत्पादन गर्न सक्ने पनि बताउनुभयो । संघीय तहबाट सबैलाई समान खालको शिक्षा दिने गरी कार्यक्रम निर्माणको बारे आफूहरूले छलफल गरिरहेको उहाँको भनाइ छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले अकोराबले ल्याएको प्रस्तावमा मन्त्रालय सकरात्मक रहेको बताउनुभयो । केही दिनभित्रै छलफल गरेर आफूहरू निचोडमा पुग्ने उहाँको भनाइ छ ।

ज्ञापनपत्र बुझाउने क्रममा अकोराबका अध्यक्ष खतिवडाले सरकारले चाहेको खण्डमा सहकार्य गर्न सामुदायिक रेडियोहरू तयार रहेको बताउनुभयो ।

विद्यालयहरू लामो समय बन्द रहने अवस्थामा घरमै रहेका बालबालिकाहरूको सिर्जनशीलता, कला तथा क्षमता रेडियोमार्फत उजागर गर्नको लागि बाल केन्द्रीत रचनात्मक रेडियो कार्यक्रम उत्पादन तथा प्रसारणको साझेदारीको पनि अध्यक्ष खतिवडाले आग्रह गर्नुभयो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथामका निम्ति सरकारले गरेको लकडाउनका कारण विद्यालय बन्द भएको र लाखौँ बालबालिका घरमै बसिरहेको अवस्थामा उनीहरुलाई लक्षित गरी सामुदायिक रेडियोहरुबाट शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० नेपालद्वारा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष प्रस्तुत गरिएको ज्ञापन–पत्रः

नेपालका सामुदायिक रेडियोले मुलुकको परिवर्तनका हरेक कालखण्डमा आफ्नो सामाजिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेका छन् । सामाजिक जागरणमा सामुदायिक रेडियोले खेलेको भूमिका आज विश्वस्तरमा नमुनायोग्य अभ्यासका रुपमा स्थापित छ ।

समुदायको अपार विश्वासका वावजुद नीतिगत र श्रोत साधनको सीमितताका कारण सामुदायिक रेडियोले विभिन्न समस्यासँग संघर्ष गरिरहनु परेको छ । नागरिकको सहज पहुँच र सवैभन्दा प्रभावकारी सञ्चार माध्यमको रुपमा स्थापित नेपालका सामुदायिक रेडियोले विपद्को घडीमा नागरिकलाई अत्यावश्यक सूचना,जानकारी एवं शिक्षामूलक कार्यक्रम सञ्चालन गरेर सामाजिक जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सामुदायिक रेडियोले निरन्तर सचेतनामूलक कार्यक्रम प्रसारण गर्दै आईरहेका छन् । यतिबेला विद्यालय बन्द भएको र लाखाँै बालबालिका घरमै रहनुपरेको अवस्थालाई मध्यनजर गरेर कतिपय सामुदायिक रेडियोले स्थानिय स्तरमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । आम नागरिकको सबैभन्दा नजिक र अधिकांसको पहुँचमा भएको माध्यम सामुदायिक रेडियोबाट शैक्षिक कार्यक्रमलाई व्यापक र प्रभावकारी बनाएर देशव्यापी रुपमा सञ्चालन गर्न हामी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष शैक्षिक कार्यक्रम सञ्चालनको लागि साझेदारीको अनुरोध गर्दै यो ज्ञापन पत्र पेश गर्दछौं ।

१।लामो समय विद्यालय बन्द हुँदा बालबालिका र अभिभावकहरुमा चिन्ता बढ्नु स्वभाविक छ । नियमित रुपमा विद्यालय सञ्चालन हुने अवस्था निर्माण नहँुदासम्म सामुदायिक रेडियोबाट कक्षा सञ्चालन गर्न सकिन्छ । यसको निम्ति मन्त्रालयको सम्बन्धीत निकाय र सामुदायिक रेडियोहरुकाबीच साझेदारी मार्फत विद्यार्थीलाई घरमै पठन पाठन गराउन सकिने जानकारी गराउँदै यसको कार्यान्वयनको पहल गरियोस् ।

२। घरमै रहेका बालबालिकाहरुको सिर्जनशिलता, कला तथा क्षमता रेडियोमार्फत उजागर गर्नको लागि बालकेन्द्रीत रचनात्मक रेडियो कार्यक्रम उत्पादन तथा प्रसारणको साझेदारीको पहल गरियोस् ।

३। विद्यार्थीहरुलाई लक्षित गरी कला, संस्कृति, वन बातावरण, सामाजिक तथा नैतिक शिक्षा, विपद्ले उत्पन्न गरेको असामान्य अवस्थाको सामान्यीकरणको लागि बाल मनोविमर्श रेडियो मार्फत सञ्चालन गर्ने ।

४। अभिभावकलाई लक्षित गरी बाल मनोविज्ञान तथा सकारात्मक अभिभावकत्वसम्बन्धी जानकारीमूलक एवं प्रेरणादायी सूचना तथा सामग्रीहरु रेडियोबाट प्रसारण गर्ने ।

सुवास खतिवडा
अध्यक्ष

मितिः २०७७ बैशाख २३ गते

प्रकाशित मितिः     २३ बैशाख २०७७, मंगलवार २१:२२  |