बजेटको लागि ताँजाकोट गाउँपालिकाले टोल स्तरीय छलफल सुरु गर्यो ।


हुम्लाको ताँजाकोट गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१।०८२ को बजेट, निति तथा कार्यक्रमको लागि टोल स्तरीय छलफल सुरु गरेको छ ।

हरेक स्थानीय तहमा बजेट पेस हुनुपर्ने समयसीमा असार १० भित्र पेश गरी सक्नु पर्ने व्यबस्था छ । सोही अनुसार ताँजकोट गाउँपालिकाले हरेक टोलबाट योजना छनौट गरि गाउँपालिकामा पेश गर्ने निर्णय अनुसार यतीबेला सबै वडाहरुले टोल स्तरीय छलफल गरी रहेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।

गाउँपालिकाले दिएको निर्देशन र नेपालको संविधान (२०७२) स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ अनुसार आफुहरु सबै टोल बस्तीमा पुगेर योजना छनौट गरी वडा समितिको बैठक बसेर गाउँ कार्यपालिकामा पेश गर्ने योजनाहरुको छनौट गर्ने वडा नम्बर ४ का वडा अध्यक्ष राजबहादुर बोगटीले बताउनु भयो ।

नेपालको संविधान (२०७२) स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ अनुसार हरेक स्थानिय तहहरुले चैत्र महिनामा पहिलो चरणमा स्रोत अनुमान र कुल बजेट सीमा निर्धारण गरी बजेट निर्माण प्रकृया सुरु गर्नु पर्ने ब्यबस्था गरेको छ । यसै गरी बैशाख मषान्त भित्र बस्ती तहमा योजना छनोट गर्ने, र जेठ १० गतेभित्र बजेट कार्यपालिकामा पेश गर्नु पर्दछ । त्यसको दफावार छलफल पश्चात अषाढ १५ गते गाउँसभामा पेश गर्ने व्यबस्था भएपनि अधिकांस स्थानीय तहहरुले यि चरणहरु कुनै पुरा नगरी एकै पटक अषाढ १५ मा बजेट निति तथा कार्यक्रम ल्याउने गरी रहेको पाईएको छ ।

हुम्लाको ताँजाकोट गाउँपालिकाले भने हरेक वर्ष सबै चरणहरु पुरा गरेर मात्रै बजेट ल्याउने गरेको अध्यक्ष जैसीले बताउनु भयो ।

प्रकाशित मितिः     १३ जेष्ठ २०८२, सोमबार १७:४७  |