साउन १४ हुम्ला ः एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ३० भन्दा धेरै पशुवस्तुहरु मरेका छन् । गाउँपालिकाको वडा नम्बर ६ स्थित रामालेख खडिन्या खाडा खर्कमा राखिएका ३० पशुबस्तु अज्ञात रोगका कारण मरेका हुन ।
अचानक पशुवस्तुको पेट सुनिने, छाती सुनिने, दिशा गर्न नसक्ने, घाँस नखाने, र्याल छोड्ने रोगले अहिलेसम्म १ भैँसी, १ कुकुर, ६ दुहुना र अन्य ९ वटा गाई र १४ भन्दो धेरै गोरु सहित अन्य पशुवस्तु मरेका चंखेली गाउँपालिका– ६ मासिधाराका हरि बहादुर शाहीले बताउनुभयो ।
साउन ८ गतेपछि फैलिएको उक्त रोगले अहिलेसम्म चंखेली गाउँपालिकाको मासिधारा लगायत क्षेत्रमा कृषकका ३० भन्दा बढी पशुवस्तु मरेपछि यहाँका किसानलाइ ठुलो क्षती पुगेको छ । अधिकांश पशुवस्तु अहिले जङ्गलतिर खर्क लिने चलनले पनि अन्य मरेका पशु वस्तुको बारेमा यकिन विवरण आउन बाँकी रहेको छ । खर्कमा समेत अझै एक भैसी बेरामी भएपछि पालमा राखिएको छ भने अन्य गाइगोरु समेत थला परेका छन । सो अज्ञात महमारीका कारण पशुबस्तु मर्न थालेपछि खर्क क्षेत्रको जंगल गनाउने भएको बताउनु भयो ।
सोही खर्कमा मात्रै नभइ विभिन्न गाउँका खर्कहरुमा १ सयभन्दा बढी पशुवस्तुहरु अझै बिरामी परेका छन् । गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि कोही पनि पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको छ । चालु आर्थिक बर्ष सुरु भएको समयदेखी गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशुलाई तत्काल उपचार गर्ने व्यवस्था नभएको स्थानीयको भनाइ रहेको छ ।
खर्कहरुबाट गाउँगाउँमा पशु बिरामी भएको खबर आउने गरेको भएपनि औषधिका लागि जाँदा पशु शाखाको ढोका बन्द भएकाले रित्तो हात फर्किनुपरेको उहाँले बताउनु भएको छ । गाउँपालिकामा खबर गर्दा समेत औषधी छैन भन्दै कुनैपनि सुनाइवाइ नभएको उहाले बताउदै भन्नुभयो । हिउँदाको समयमा पशुबस्तुलाइ घाँस संकलन बर्खे बालिको संरक्षणका लागि गर्मीममा हुने रोग छल्न छल्नका लागि खर्कमा लगिएको भएपनि यहाँसम्म अज्ञात रोगको महामारी फैलिएर पशुबस्तु मर्दा किसानको खेत जोत्ने हल गोरु समेत नहुने देखिएको छ ।
