टेलिकमको लापरबाहीले दसैँमा सञ्चारविहीन बने हुम्ला र मुगुका बासिन्दा ।।


दसैँको चहलपहल बढिरहेका बेला नेपाल टेलिकमको इन्टरनेट तथा टेलिफोन सेवा अवरुद्ध हुँदा हुम्ला र मुगुका हजारौँ नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन् । टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ । कर्मचारी बिदामा गएको कारण देखाउँदै दसैँअघि नै सेवा सञ्चालनमा ल्याउन नसकिने जवाफ दिएपछि दुर्गम क्षेत्रका नागरिक थप समस्यामा परेका छन् ।

मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरका लिङ्क डिभाइसमा समस्या आएपछि फ्रोजी टावर सञ्चालनमा आउन नसकेको नेपाल टेलिकम मुगुका प्रमुख उमेश चौधरीले बताउनु भयो । उहाँका अनुसार टावरमा जोडिएका लिङ्क डिभाइसमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । दसैँ बिदामा कर्मचारी घर गएकाले दसैँअघि नै समस्या समाधान गर्न नसकिने उहाँले बताउनुभयो । यसले मुगुको सोरु गाउँपालिकासहित हुम्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।

तर, चाडपर्वका बेला नागरिकलाई अत्यावश्यक बनेको सञ्चार सेवा अवरुद्ध हुँदा पनि तत्काल मर्मतको व्यवस्था गर्न नसक्नुले टेलिकमको सेवा व्यवस्थापनमाथि प्रश्न उठाएको छ । प्राविधिक समस्या जुनसुकै बेला आउन सक्ने भए पनि त्यसको समाधानका लागि वैकल्पिक व्यवस्था र आवश्यक जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने हो । तर, कर्मचारी बिदामा गएको कारण देखाएर सेवा सञ्चालनमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष मार सर्वसाधारणले खेप्नुपरेको छ ।

अदानचुली गाउँपालिका–४ का वडा सदस्य सिंह बोहराका अनुसार टेलिकमका कर्मचारीलाई पटक–पटक फोन गरेर समस्या समाधानका लागि आग्रह गर्दा पनि सुनुवाइ भएको बताउनु भयो । सञ्चार सेवा अवरुद्ध हुँदा दसैँमा घर आउने–जाने आफन्तसँग सम्पर्क गर्न तथा रकम पठाउनसमेत समस्या भएको उहाँले बताउनुभयो ।

इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध हुँदा नागरिकले आफन्तसँग सम्पर्क गर्न, आर्थिक कारोबार गर्न तथा आवश्यक सूचना आदानप्रदान गर्न कठिनाइ भोगिरहेका छन् । भौगोलिक विकटताका कारण अन्य सञ्चार माध्यमको विकल्पसमेत सहज नभएका यी क्षेत्रका नागरिकलाई टेलिकमको सेवा बन्द हुँदा थप सास्ती भएको छ ।

चाडपर्वका बेला नागरिकलाई सहज सञ्चार सेवा उपलब्ध गराउनुपर्ने निकाय नै कर्मचारी बिदामा गएको कारण देखाएर पन्छिन खोज्नु गैरजिम्मेवार व्यवहार भएको स्थानीयको गुनासो छ । प्राविधिक समस्या समाधान गरी सेवा नियमित गर्न टेलिकमले तत्काल पहल गर्नुपर्ने माग स्थानीयले गरेका छन् उक्त फ्रोजी टावर बिग्रेकको करिब एक हप्ता विति सकेको छ ।।–––कालीबहादुर थापा

प्रकाशित मितिः     ४ कार्तिक २०८३, मंगलवार १८:४४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *