हुम्लाको ताँजकोट गाउँपालिकाबाट अति कुपोषित देखिएका एघार जना शिशु र दश जना आमालाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाईएको छ ।
ताँजाकोट गाउपालिका–१ देखि ५ सम्मका सबै टोल बस्तीहरुमा पोषण लेखाजोखा गर्दा पाँच बर्ष मुनिका ती बालबालिकाहरुमा अति शिघ्र कुपोषण देखिएपछि थप उपचार तथा स्याहारका लागि प्रतिष्ठान जुम्लामा पठाईएको स्वास्थ्य शाँखा संयोजक धनराज ढकालले बताउनु भयो ।
अति शिघ्र कुपोषण मध्य १० आमा र ११ जना बालबालिकालाई पोषण पुनःस्थापना केन्द्रमा उपचार गर्नका लागि मङ्गलबार पहिलो चरणमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा पठाईएको बताउनु भयो उहाँका अनुसार अति कुपोषित मध्ये बढी जोखिम भएका शिशुहरुलाई पहिलो चरणमा जुम्ला पठाएको बताउनु भयो ।
यसरी शिशु सहित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाईएका आमाहरुमा ताँजाकोट गाउँपालिका– १ की पबिता कार्की, सुन्तली रिठाल र जुना कार्की, वडा नम्बर २ की मौसमी चदरा र बसन्ती कटुवाल, वडा नम्बर ३ की मिठा नेपाली, प्रेमकला नेपाली र बाँचु नेपाली रहनु भएको छ ।
त्यसैगरि वडा नम्बर ४ बाट कबिता नेपाली र वडा नम्बर ५ बाट ललिता रोकायालाई पनि पठाईएको छ । जुम्ला पठाईएका एघार जना शिशु मध्य मौसमी चदराका जुम्ल्याहा शिशु हुन् ।
यसअघि यी शिशुको गाउँपालिकाभार पोषण लेखाजोखा वस्ती वस्तीमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविका पुगेर कुपोषण पत्ता लगाउने कार्य भएको थियो ।
थप उपचार गर्न जुम्ला पठाउनका लागि प्रतिष्ठानसंग समन्वय भएकोमा प्रतिष्ठानले तत्काल पठाउन आग्रह गरेपछि मंङ्गलबार त्यसतर्फ पठाईएको हो । ती आमा तथा शिशु लिनका लागि प्रतिष्ठान जुम्लाबाट गाडी आएको थियो । अब ती शिशुहरुको प्रतिष्ठानको पोषण पूनःस्थापना केन्द्रमा निशुल्क रुपमा उपचार तथा स्याहार हुने छ ।
