काठमाडौँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी तीन वर्षभित्रमा सबै जिल्ला सदरमुकाम र पालिका केन्द्र जोड्ने सडक दुई लेनको बनाइसक्ने गरी प्रक्रिया अगाडी बढाइसकेको बताउनुभएको छ।
राष्ट्रिय सभाको आजको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री लम्सालले देशभर रहेका सिङ्गल लेनका सबै सडकहरू तीन वर्षभित्र दुई लेनको गरिसक्ने लक्ष्य रहेको र त्यसका लागि पर्याप्त बजेट रहेका कारण कतिपय सडक यसपाली टेन्डर हुने बताउनुभयो ।
सांसदले सोधेका मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सडकमा पहिरो नियन्त्रणका लागि करिब २७ अर्ब बजेट रहेको र पहिचान भएका स्थानमा पहिरो नियन्त्रणको काम यसै वर्षबाट टेन्डर गरेर शुरु गर्ने बताउनुभयो ।
उहाँले कर्णाली करिडोरको सुधार र सडक खण्डहरूमा निर्माणाधीन पुल र आवश्यक पुलको अवस्थाबारे स्थलगत अनुगमन गरी आवश्यकताका आधारमा पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
