त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह बिए प्रथम वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । जिल्लामा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त तीनवटा क्याम्पस रहे पनि एक मात्र परीक्षा केन्द्रका रूपमा रहेको मानसरोवर बहुमुखी क्याम्पसमा परीक्षा सञ्चालन गरिएको हो ।
यसअघि साउन १८ गतेदेखि परीक्षा सुरु हुने तालिका रहे पनि त्रिभुवन विश्वविद्यालयको आन्तरिक कारणले पहिलो दिनको विषय स्थगित गरी पछि सारिएको थियो । सोही कारण आजबाट नियमित रूपमा परीक्षा सञ्चालनमा आएको मानसरोवर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तीर्थराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका गल्बा बहुमुखी क्याम्पस, हिमज्योति बहुमुखी क्याम्पस र मानसरोवर बहुमुखी क्याम्पस का गरी २०५ जना विद्यार्थीले परीक्षा आवेदन दिएका थिए । तीमध्ये १६७ जना विद्यार्थी परीक्षा दिन उपस्थित भएका छन् भने ३८ जना विद्यार्थी अनुपस्थित रहेका छन् ।
सहायक क्याम्पस प्रमुख भण्डारीका अनुसार अघिल्ला वर्षहरूमा परीक्षा आवेदन दिने विद्यार्थीको तुलनामा परीक्षा दिन उपस्थित हुने संख्या निकै कम रहने गरेको थियो । तर यस वर्ष भने आवेदन दिएका अधिकांश विद्यार्थी परीक्षा दिन उपस्थित भएकाले सहभागितामा सकारात्मक सुधार देखिएको उहाँको भनाइ छ । परीक्षा केन्द्रमा शान्तिपूर्ण र मर्यादित वातावरणमा परीक्षा सञ्चालन भइरहेको क्याम्पस प्रशासनले जनाएको छ। परीक्षालाई व्यवस्थित, निष्पक्ष र मर्यादित बनाउन आवश्यक सुरक्षा व्यवस्था तथा अनुगमनको समेत प्रबन्ध गरिएको छ । उच्च शिक्षाको महत्वपूर्ण आधार मानिने स्नातक तहको परीक्षा सुरु भएसँगै विद्यार्थीमा उत्साह देखिएको छ । निर्धारित तालिका अनुसार बाँकी विषयका परीक्षा पनि निरन्तर सञ्चालन हुने क्याम्पसले जनाएको छ ।
