हुम्लामा कृयाशिल राजनिकि दलहरु पुनः साझा मुद्धाहरुमा एकमत हुँने भएका छन् । लामो समय निश्कृय देखीएको दलिय संयन्त्र पुन सकृय हुँने भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय हुम्लामा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूबीच सर्वदलीय बैठक भयो, जिल्लाको समग्र विकास, सुशासन, विपद् व्यवस्थापन तथा विभिन्न स्थानीय समस्याका विषयमा छलफल गर्दै राजनीतिक दलहरूले सहकार्य र समन्वयको संस्कारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन ।
छलफलमा जिल्लाको विकास र निकासका विषयमा राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइएका छन् । गत वर्ष सम्म निरन्तर रुपमा जिल्लामा दलिय बैठक गर्दै आएका दलहरु पछिल्लो समय निश्कृय भएका थिए ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइको सकृयतामा आयोजना गरिएको सर्बदलिय बैठकमा राजनीतिक दलहरू विकास निर्माणका विषयमा केन्द्रित भएर काम गर्ने, जिल्लाका जनप्रतिनिधिले गरेका राम्रा कामको प्रचार–प्रसार गर्ने तथा कमजोरी देखिएमा सुधारका लागि सकारात्मक सुझाव दिने विषयमा समेत छलफल भएको नेपाली कम्युनिष्ट पार्टीका जिल्ला संयोजक दीपेन्द्र रोकायाले बताउनु भयो । संघ, प्रदेश र स्थानीय सरकारले गर्ने काम, जिम्मेवारी तथा अधिकारका विषयमा राजनीतिक दल र नागरिकलाई थप जानकारी गराउनुपर्नेमा समेत बैठकमा जोड दिइएको थियो ।
त्यस्तै, हुम्लामा केन्द्रीय प्रसारण लाइनको विस्तारलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालयले आवश्यक सहजीकरण गर्नुपर्ने माग राजनीतिक दलहरूले राखेका छन् । खार्पु दोभानमा रहेको बेलिब्रिजलाई दोमुखमा सार्ने विषय बाहिर आइरहेकाले त्यसका लागि आवश्यक समन्वय तथा सहजीकरण प्रशासन कार्यालयबाट गरिनुपर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला तहदेखि गाउँस्तरसम्म विपद् व्यवस्थापन समिति गठन तथा सक्रिय बनाउनुपर्नेमा समेत छलफल भएको छ ।
साउने पूर्णिमा हुम्लाको महत्वपूर्ण चाडपर्व भएकाले धामी–झाँक्रीहरूलाई मानसरोवर–कैलाश पर्वत जान सहज वातावरण बनाउन स्थानीय सीमा पास भदौ ७ र ८ गते उपलब्ध गराउन राजनितिक दलले आग्रह गरेका छन ।
यता प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जिल्लामा क्रियाशील पाँचवटै राजनीतिक दल एउटै विषयमा एक भएर उभिनु सकारात्मक पक्ष भएको बताउनु भयो । उहाँले जिल्लाको विकास र समस्या समाधानका लागि प्रशासनले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी गुरागाईंका अनुसार जिल्लामा सञ्चालित विकासे कार्यालयहरूको काम कारबाहीको तीन–तीन महिनामा त्रैमासिक समीक्षा गरिने, रानीसैनको विवाद अदालतमा पुगिसकेकाले त्यसको अन्तिम टुङ्गो अदालतबाटै लाग्ने बताउँदै प्रशासनबाट आवश्यक पहल र समन्वय भने गरिने उहाँले बताउनुु भयो ।
त्यसैगरी हिल्सामा टावर राख्ने ठेक्का प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी गुरागाईंले जिल्लाका विकास निर्माण तथा जनसरोकारका विषयमा प्रशासनले निरन्तर सहजीकरण गर्ने बताउनुभयो ।
