हुम्लामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सिमकोट ७९ प्रतिशतसहित पहिलो ।


जिल्लामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा आगामी कार्ययोजना निर्माण गोष्ठी सम्पन्न भएको छ । समीक्षामा स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती तथा आगामी आर्थिक वर्षका लागि सञ्चालन गरिने कार्यक्रमबारे छलफल गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको आयोजनामा सिमकोट बजारस्थित एलिस होटलमा सञ्चालित दुई दिने गोष्ठीमा जिल्लाका सातवटै स्थानीय तहका स्वास्थ्य कार्यक्रमको कार्य सम्पादनको समीक्षा गरिएको निमित्त जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भीमबहादुर बुढाले बताउनु भयो ।

उहाँका अनुसार जिल्लामा स्वास्थ्य क्षेत्रमा करिब १० करोड रुपैयाँ बराबरको बजेट आएको र स्वास्थ्य क्षेत्रमा करिब ५ करोड रुपैयाँ बराबर बेरुजु रहेको विषयमा समेत समीक्षा गरिएको छ आगामी आर्थिक वर्षमा जिल्लामा ग्यास्ट्रिक सम्बन्धी समस्या बढी देखिएको र जिल्ला अस्पताल हुम्लामा देखिएका विभिन्न समस्याबारे पनि छलफल भएको बताउनु भयो ।

यतिबेला अस्पतालमा खानेपानीको समस्या, विशेषज्ञ चिकित्सकको अभाव, भवनको समस्या, इन्टरनेट सेवा, जिल्ला दररेट अनुसार सवारीसाधनको व्यवस्था, मेसिनरी सामग्री तथा अक्सिजन प्लान्ट लगायतका विषयमा पनि समिक्षा गरिएको छ । अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न भौतिक पूर्वाधार, आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्थापनमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका छन् ।

जिल्लाभर रहेका ७ वटा स्वास्थ्य शाँखाहरुले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको कार्यसम्पादन मूल्यांकनमा सिमकोट गाउँपालिका पहिलो भएको छ । ४३ पूर्णाङ्कमध्ये सिमकोटले ३४ अंक अथार्त ७९ प्रतिशत प्राप्त गरेको छ । त्यस्तै ताजाकोट गाउँपालिका ३० दशमलब ६२, चंखेली गाउँपालिका ३० दशमलब ११, सर्केगाड गाउँपालिकाले २९ दशमलब ८, अदानचुली गाउँपालिकाले २९ दशमलब ५, नाम्खा गाउँपालिकाले २७ र खार्पुनाथ गाउँपालिकाले २७ अंक प्राप्त गरेका छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

गोष्ठीमा सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला भाम रोकाया, प्रदेश स्वास्थ्य निर्देशनालयका प्रेमबहादुर सिंह, सहायक प्रमुख जिल्ला अधिकारी चन्दबिर शाही, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख, नेपाल एयरलाइन्सका प्रमुख तथा प्रतिनिधि, सातवटै गाउँपालिकाका स्वास्थ्य संयोजक, पत्रकार तथा जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरूको सहभागिता गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक वर्षको स्वास्थ्य क्षेत्रको प्रगतिको समीक्षा गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने विषयमा कार्ययोजना निर्माण गरिएको जनाइएको छ ।

प्रकाशित मितिः     ३१ भाद्र २०८३, बुधबार १९:३५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *