नेकपा एमाले अदानचुली गाउँ कमिटीको १४औँ बैठक विभिन्न पाँचवटा निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार अदानचुली गाउँ कमिटीको पार्टी कार्यालयमा गाउँ कमिटी अध्यक्ष बुध भण्डारीको अध्यक्षतामा बसेको बैठकले स्थानीय विपद् व्यवस्थापन, पार्टी संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा दशैँ चियापान कार्यक्रमलगायतका विषयमा निर्णय गरेको हो । बैठकमा नेकपा अदानचुली गाउँ कमिटि इन्चार्ज धन्जे परिवार, एमाले प्रदेश कमिटी सदस्य नवराज महतारा, अदानकला महतारा, जिल्ला कमिटि उपसचिव मन्जु फडेरा, उपलब्ध जिल्ला कमिटीका सदस्य तथा पार्टीका विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
बैठकले अदानचुली गाउँपालिकाभित्र नेकपा एमालेप्रति आस्थावान विभिन्न व्यक्तिहरू तथा गत भदौ १० गते सुरुवाको भोटेकोशीमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ । बैठकले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै बाढीपहिरोबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढीपहिरोका कारण विस्थापित भएका परिवारलाई राहत तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्न नेपाल सरकारसँग जोडदार माग गर्ने निर्णयसमेत बैठकले गरेको छ । त्यसैगरी, नवगठित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसहित ऊर्जा तथा जलस्रोत, सामाजिक विकास, वन, पर्यटन, भूमि व्यवस्था तथा कृषि र भौतिक पूर्वाधार विकास मन्त्रीहरूलाई बधाई तथा शुभकामना ज्ञापन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले पार्टीको सदस्यता नवीकरण तथा नयाँ सदस्य थप गर्ने अभियानलाई तीव्रता दिने निर्णय गरेको छ । वडा कमिटीका बैठकमार्फत सदस्यता नवीकरण तथा नयाँ सदस्य विस्तारको काम अघि बढाइने गाउँ कमिटीले जनाएको छ । गाउँ कमिटीको कार्यालय तथा अदानचुली गाउँपालिकाका ६ वटै वडा कमिटीका पार्टी कार्यालयलाई थप व्यवस्थित बनाउने निर्णय पनि बैठकले गरेको छ ।
नजिकिँदै गरेको नेपालीहरूको महान् पर्व वडा दशैँ २०८३ को अवसरमा गाउँ कमिटीको तर्फबाट चियापान कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान गर्ने निर्णयसमेत गरिएको छ । उता नेकपा एमालेको केन्द्रिय कमिटिले पनि पार्टी सदस्यता अन्यौलमा राखेको पुर्ब राष्ट्रपति विद्यादेबी भण्डारीलाई पार्टीमा सामेल गराई विधानमा ब्याबस्था नभएपनि बरिष्ठ नेताको पद दिइ सकेको छ । नेकपा एमालेले पछिल्लो समय पार्टी संगठन सुदृढीकरण र तल्लो तहसम्म संगठनात्मक गतिविधि विस्तारलाई प्राथमिकता दिँदै आएको छ । यही सन्दर्भमा अदानचुली गाउँ कमिटीले पनि सदस्यता नवीकरण, नयाँ सदस्य विस्तार र वडा तहका पार्टी संरचनालाई व्यवस्थित बनाउने निर्णय गरेको छ ।
