करिब ६ वर्षपछि सांस्कृतिक संग्रहालय भवन उद्घाटन, अदानचुलीको विकासका लागि बजेट थप्ने मुख्यमन्त्रीको प्रतिबद्धता ।


हुम्लाको अदानचुली गाउँपालिकामा निर्माण गरिएको सांस्कृतिक संग्रहालय भवन करिब ६ वर्षपछि उद्घाटन गरिएको छ । कर्णाली सांस्कृतिक संरक्षण केन्द्रको आयोजनामा भएको देउडा खेलको उद्घाटनसहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज उक्त भवनको उद्घाटन गर्नुभएको हो ।

अदानचुली गाउँपालिकाको करिब ३० लाख रुपैयाँ लगानीमा अघिल्लो कार्यकालमा निर्माण गरिएको सांस्कृतिक संग्रहालय भवन लामो समयपछि सञ्चालनमा आउने भएको छ । स्थानीय कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको भवनको उद्घाटनसँगै स्थानीयवासीमा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन हुने अपेक्षा गरिएको सस्थाका अध्यक्ष राजबहादुर दानीले बताउनु भयो ।

सुर्खेतबाट कर्णाली करिडोर हुँदै आज बिहान हुम्ला आइपुग्नुभएका मुख्यमन्त्री शाही भवनको उद्घाटनपछि पुनः सुर्खेत फर्किनुभएको छ । अदानचुली गाउँपालिकामा पुग्नुभएका मुख्यमन्त्री शाहीलाई स्थानीयस्तरमा भव्य स्वागत गरिएको थियो ।
भवन उद्घाटनका क्रममा मुख्यमन्त्री शाहीले अदानचुली गाउँपालिकाको विकासका लागि आवश्यक बजेट व्यवस्थापन गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले आफूले मात्रै यति ठूलो बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्न नसक्ने भए पनि कर्णाली प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले अदानचुली गाउँपालिकामा विकास निर्माणका काम भइरहे पनि अपेक्षित मात्रामा विकास हुन नसकेको बताउनुभयो । निर्माणाधीन योजनाहरू सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले दुर्गम क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

भौगोलिक विकटताका कारण विकासका पूर्वाधार निर्माणमा चुनौती झेलिरहेको अदानचुलीमा निर्माणाधीन योजनाहरू सम्पन्न गर्न प्रदेश सरकारको सहयोग आवश्यक रहेको स्थानीयको अपेक्षा छ । सांस्कृतिक संग्रहालय भवनको उद्घाटनसँगै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षणमा थप टेवा पुग्ने विश्वास गरिएको छ । –––कालीबहादुर थापा

प्रकाशित मितिः     १० कार्तिक २०८३, सोमबार ११:४२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *