हुम्लामा ६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो ।।


नेपाल सरकारले कात्तिक १७ र १८ गते देशव्यापी रूपमा सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान हुम्लामा पनि सम्पन्न भएको छ । जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालन गरिएको अभियानमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाकी वरिष्ठ अनमी सरिता बोहराले बताउनु भयो ।

उहाँका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा अभियान सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइएको थियो । जिल्लाभर भिटामिन ‘ए’ ६ हजार ८०० मात्रा र जुकाको औषधि ४ हजार ६०० जना बालबालिकालाई खुवाइएको बताउनु भयो ।
स्थानीय तहगत विवरणअनुसार सर्केगाड गाउँपालिकामा सबैभन्दा बढी १ हजार ४ सय मात्रा भिटामिन ‘ए’ र १ हजार मात्रा जुकाको औषधि खुवाइएको छ । त्यसैगरी अदानचुली र सिमकोट गाउँपालिकामा १ हजार २ सय मात्रा भिटामिन ‘ए’ तथा ८ सय मात्रा जुकाको औषधि खुवाइएको छ ।

त्यस्तै खार्पुनाथ गाउँपालिकामा १ हजार मात्रा भिटामिन ‘ए’ र ८ सय मात्रा जुकाको औषधि, ताँजाकोटमा ८ सय मात्रा भिटामिन ‘ए’ र ६ सय मात्रा जुकाको औषधि तथा चंखेलीका लागि ८ सय मात्रा भिटामिन ‘ए’ र ४ सय मात्रा जुकाको औषधि खुवाइएको छ ।

यसैगरी नाम्खा गाउँपालिकाका लागि ४ सय मात्रा भिटामिन ‘ए’ र २ सय मात्रा जुकाको औषधि खुवाइएकोे स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

राष्ट्रिय अभियानअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने व्यवस्था गरिएको छ । सरकारले हरेक वर्ष कात्तिक र वैशाखमा दुई चरणमा यस्तो अभियान सञ्चालन गर्दै आएको छ ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     २० कार्तिक २०८३, बिहीबार १९:२२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *