हुम्ला, मंसिर १२ रासस । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको गल्बा बहुमुखी क्याम्पसले स्थापनाको १३ वर्षपछि शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ । क्याम्पस स्थापना भएयता पहिलो पटक यस वर्ष बीए प्रथम वर्षमा ४० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
२०७० सालमा स्थापना भएको क्याम्पसबाट यसअघि जम्मा दुई जना विद्यार्थी मात्रै उत्तीर्ण भएकोमा यस वर्ष ४० जना थपिएसँगै उत्तीर्ण हुने विद्यार्थीको संख्या ४२ पुगेको क्याम्पस प्रमुख हरिप्रसाद जैसीले बताउनुभयो ।
गत वर्षको मंसिरमा क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका जैसीका अनुसार यस वर्ष क्याम्पसमा १०५ जना विद्यार्थी भर्ना भएका थिए । तर, परीक्षा केन्द्र जिल्ला सदरमुकाम सिमकोटमा रहेकाले ५२ जना विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागीमध्ये ४० जना उत्तीर्ण भएका हुन् ।
परीक्षा केन्द्र टाढा हुँदा ५५ जना विद्यार्थी परीक्षामा सहभागी हुन नसकेको उहाँले बताउनुभयो । परीक्षामा सहभागी भएकामध्ये आठ जना एक विषयमा मात्रै अनुत्तीर्ण भएका छन् भने दुई जनाले एक विषयको मात्रै परीक्षा दिएका थिए ।
जिल्ला सदरमुकाम सिमकोटबाट करिब ४४ कोष टाढा रहेको क्याम्पसले भौतिक पूर्वाधार तथा अन्य शैक्षिक सुविधाको अभावबीच हासिल गरेको यो उपलब्धिलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् । विगतमा न्यून विद्यार्थी उत्तीर्ण हुँदै आएको क्याम्पसमा यस वर्ष एकैपटक ४० जना उत्तीर्ण भएपछि विद्यार्थी, अभिभावक र स्थानीयमा उत्साह थपिएको छ ।
क्याम्पसको शैक्षिक गुणस्तर सुधार गर्दै नियमित पठनपाठनलाई प्रभावकारी बनाउन यसै वर्षदेखि विषयगत शिक्षकसमेत नियुक्त गरिएको क्याम्पस प्रमुख जैसीले बताउनुभयो ।
१३ वर्षपछि पहिलोपटक ४० विद्यार्थी उत्तीर्ण हुनु गल्बा बहुमुखी क्याम्पसको शैक्षिक सुधारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यस क्याम्पसमा अंग्रेजी, राजनितिक शास्त्र, नेपाली, सामाजिक कार्य र ग्रामिण विकासको अध्ययन हुँदै आएको छ । भने आउदो वर्ष परिक्षा केन्द्र यतै ल्याउने तयारी भैरहेको क्याम्पस प्रशासन प्रमुख रणसुर रोकायाले बताउनु भयो ।–––कालीबहादुर थापा
