अपहरित अध्यक्ष शाही १८ घण्टापछि मुक्त


सोमवार, पुष ७, २०७६
सुर्खेत । शनिबार बिहान आप्mनै घरबाट अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरण मुक्त गरेको छ ।

दैलेखबाट कालीकोट हुँदैं साविकको कर्णालीका अन्य जिल्लातर्फ लिदैं गरेको अवस्थामा कालीकोटबाट खटिएको प्रहरीले दैलेख र कालिकोटको सीमानामा पर्ने सुभकालिका गाउँपालिकाको छाती गाउँको जंगलबाट आइतबार साँझ अपहरण मुक्त गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक श्याम आलियाले जानकारी दिए ।

अध्यक्ष शाहीलाई अपहरण गरेको खबर पाउँने बित्तिकै जिल्लाका सबै प्रहरी चौकीलाई निगरानीका साथ परिचालन गरेको जानकारी दिएका कालिकोट प्रहरी प्रमुखसमेत रहेका आलियाले जिल्लाबाट खटाइएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जंगलमा राखिएको अवस्थामा फेला पारेको बताए । ‘दैलेख र कालीकोटको सीमानामा तीन टोली बनाएर खटाइएका ४० जना सुरक्षाकर्मीको निकै मेहेनतबाट अध्यक्ष शाहीलाई अपहरणमुक्त गर्न सफल भएका हौं ।’ उनले भने, ‘विप्लव माओवादीको समूहबाट अपहरणमुक्त गरिएका अध्यक्ष शाहीको स्वास्थ्य अवस्था अहिले खतरामुक्त छ ।’

दैलेखदेखि ल्याइएका अध्यक्ष शाहीलाई कालिकोटको जंगल हुँदै अन्यत्र लगिदैंछ भन्ने विशेष सूचनाका आधारमा भर्तादेखि जिल्लाभरका सुरक्षाकर्मीलाई छातीको जंगलमा केन्द्रित गरेर विषेश सुरक्षा घेरा हालेपछि मात्रै प्रहरी अपहरणमुक्त गर्न सफल भएको थियो ।

प्रहरीको उपस्थिति भएपछि कालीकोटको शुभकालिकाको छाती जंगलको खाेंचमा अध्यक्ष शाहीलाई राखेर चारैतर्फ सैन्ट्री गरेर बसेका विप्लव माओवादीका कार्यकर्ताको समूह त्यहाँबाट भागेको कालीकोट प्रहरी प्रमुख आलियाले जानकारी दिए । उनका अनुसार जंगलबाट माथि भाग्दै गरेका विप्लव कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर ढुंगामुडा गरेपछि छाती जंगलमा केही समय प्रहरी फायरिङसमेत गरेको थियो । छाती जंगल जिल्ला सदरमुकाम मान्मबाट टाढा भएकाले विस्तृत विवरण आइनसेकेको उल्लेख गरेका आलियाले विप्लवका कार्यकर्ताले प्रहरीमाथि जाईलाग्न थालेपछि २/४ राउण्ड फायरिङ भएको स्वीकारे । उनका अनुसार शुभकालिकाबाट अपहरणमुक्त गरिएका गाउँपालिका अध्यक्ष शाहीलाई आज (सोमबार) सदरमुकाम मान्म ल्याइदैंछ । दैलेखबाट आफन्तलाई समेत मान्म आउन खबर गरिएको उल्लेख गरेका आलियाले भोलि मंगलबार आफन्तको जिम्मा लगाइने बताए ।

यसरी भयो शाहीको अपहरण

जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई सरकारद्वारा प्रतिबन्धित नेकपा माओवादी (विप्लव) नेतृत्वका कार्यकर्ताको समूहले अपहरण गरेका हुन् । ठाटीकाँध गाउँपालिका–२ स्थित सेरीपाटामा रहेको अध्यक्ष शाहीको आफ्नै घरबाट शनिबार राति साढे १२ बजेतिर अपहरण गरेको उनका भाइ हस्त शाहीले जानकारी दिए । उनका अनुसार राति घरमा आएका १५ जना विप्लव कार्यकर्ताको समूहले थोरै काम छ भन्दै अज्ञात स्थलतर्फ लगेपछि अपहरण गरेका थिए । घरमा अध्यक्ष शाहीसँगै रहेकी श्रीमती लिला शाहीलाई पनि उक्त समूहले लिएर गएको थियो । ‘अध्यक्ष ज्यूसँग थोरै सोधपुछ छ भन्दै उक्त समूहले दाइलाई बाहिर लियो ।’ उनका भाइ हस्तले भने, ‘के काम हो राति भनेर खोजीमा गएको मलाई पनि उनीहरुले सँगै लिएका थिए ।’
पछि आधाबाटोसम्म गएपछि आफूलाई उक्त समूहले राति एक बजे बाजपानीबाट छोडे पनि अध्यक्ष शाही र उनकी श्रमिती इला मल्ल शाहीलाई सँगै लिएर गएको हस्तले जानकारी दिए ।

अध्यक्ष शाहीकी श्रीमती इला भने आइतबार बिहान नौं बजे दैलेखको आठबिस नगरपालिका–९ र ठाटीकाँध–४ को सीमानामा पर्ने सुकाटेबाट सम्पर्कमा आएकी थिइन् ।

अनियमितता र सुराकीको आरोपमा अपहरण

दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई आफूले सोधपुछका लागि नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।
नेकपा माओवादी ‘विप्लव’ का भेरी–कर्णाली ब्यूरोका इन्चार्ज रवीले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा गाउँपालिका अध्यक्षमाथि चरम भ्रष्टाचार गरेको, कमिसन खाएको र आफूहरुको सुराकी गरेकाले पनि आफूहरुले केही समयका लागि नियन्त्रणमा लिएको उल्लेख गरेका छन् ।

ठाटीकाँध गाउँपालिकामा लामो समयदेखि आप्mनो पार्टीको संगठन निर्माणको काम गरिरहेको बेला अध्यक्ष शाहीले गाउँपालिकाबाट विनियोजित बजेटका योजनामा व्यापक अनियमितता गरेको, उपभोक्ताबाट कमिसन मागेको जस्ता जनताका उजुरी आएपछि हामीले नियन्त्रणमा लिनु परेको ब्यूरो कार्यालयका सचिव सुमनले जानकारी दिए । पार्टी कार्यक्रम गरिरहेका हाम्रा साथीहरुलाई सुराकी गर्ने काममा समेत शाही संलग्न भएपछि आफूहरुले अब त्यस्ता काममा सहभागिता नहोस् भन्न नियन्त्रणमा लिएको बताए ।

प्रकाशित मितिः     ७ पुष २०७६, सोमबार १४:०४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *