८० संगठनसँग प्रत्यक्ष संवाद गर्छौं : मन्त्री भट्टराई


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० संगठनसँग प्रत्यक्ष सं‌वाद गर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघ, गैरसरकारी संस्था महासंघ र सामुदायिक वन उपभोक्ता महासंघसँग मंगलबार भएको छलफलमा उनले यस्तो बताएका हुन् । पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन पनि संगठनहरूसँगको छलफल महत्त्वपूर्ण हुने उनले बताए । मंगलबारसम्म ६० विभिन्न राष्ट्रिय संगठनसँग छलफल भएको र बुधबार पनि गरी करिब ८० संगठनसँग पर्यटन वर्षका विषयमा छलफल गर्ने योजना रहेको उनले बताए ।

मन्त्री भट्टराईले मंगलबारको छलफलमा सहभागी तीनवटै संगठनलाई जनवरी १ मा हुने मार्चपासमा प्रत्येक संगठनबाट सयजनालाई सहभागि गराउन पनि आग्रह गरे । पाँचतारे होटलहरूमा नेपाली खानाको मेन्यु राख्न निर्देशन दिइसकेको बताउँदै उनले होमस्टेहरूमा बास बस्न मात्रै नभएर स्थानीय उत्पादनलाई टेवा पुग्ने गरी खानाको व्यवस्था गर्नुपर्ने पनि बताए ।

जनवरी १ बाट नेपालले भ्रमण वर्ष २०२० मनाउँदै छ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मितिः     ८ पुष २०७६, मंगलवार १२:२४  |