सांस्कृतिक परिवर्तन बिना दलितहरुको मुक्ति सम्भव हुँदैन


रेडियाे श्रीनगर
लेखक रणसि‌ह परियार नेपाल कम्युनिष्ट पाटी नेकपा प्रदेश कमिटी सदस्य

 विश्व आज विज्ञान प्रविधिको विकासक्रममा एक धु्रवमा धु्रविकरण हुँदैछ । विज्ञानको नयाँ आविस्कारको नयाँ चमत्कार हुँदैछ । एकपछि अर्को नवीनतम कार्यमा प्रतिस्पर्धा भइरहेको छ । पूँजी र प्रविधिमा अग्रसर देशहरुमा, त्यहाँका जनताहरुको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक विकास पनि उच्च ढङ्गले विकास भइरहेको छ । यस्ता देशका जनता समान व्यवहार, समान, हक र समान अधिकारमा जीवनयापन गरिरहेका छन् ।

बिडम्बना भनौँ । दक्षिण एसियाको भारत र नेपालमा भने सांस्कृतिक रुपमा अनौठो परिस्थिति देख्न र भोग्न परिरहेको छ । संसारमा कही नभएको जातीय छुवाछुतजस्तो निकृष्ट व्यवस्था आज २१औँ शताब्दीमा आउँदासम्म पनि विद्यमान नेपालमा अझै कायम रहेको छ । एउटै मानव, एउटै सोच, एउटै रहनसहन, एउटै परम्परामा रहेका एउटा समुदायले अर्को समुदायप्रति गरिने व्यवहार समाजको कलङ्कको रुपमा जातपात व्यवस्था स्थापित छ । आर्यन समुदायभित्र रहको सांस्कृतिक विभेद र मानव जातिको घृणाको रुपमा रहेको यो कुप्रथा यसको प्रतिविम्व हो ।

आदिम साम्यवादी युगमा कुनै पनि जातीय विभाजन भएको पाइदैंन । संयुक्त परिवार, समान अधिकार थियो । उच–नीच, तल्लो–मल्लो भन्ने थिएन । छुने–नछुने भन्ने थिएन । जब दास युगको शुरुवात भयो । बलिया बाङ्गाले कमजोरहरुलाई लडाई गर्न थाले । हारेकाहरु दास र जित्नेहरु मालिक हुुने चलन शुरु भयो । दास मालिक मालिकमा यति चरण विभेद शुरु भयो । दासहरुले नारकीय जीवनमा बाँच्नुपर्ने बाध्य भए । त्यसपछि सामन्तवादी युगको शुरुवात भयो । समाजका सिपालु समुदाय सामन्तको दास बन्नुपर्ने भयो । आर्थिक विपन्न समुदायहरुलाई सामाजिक र सांस्कृतिक गति विधिबाट टाढा राख्न शुरु भयो । काममा खटिनेहरु मैला र फोहोर देखिन थाले अनि उनीहरुलाई सरसफाई गर्नेसम्म फुर्सद भएन । यसका कारण यस्ता मान्छेलाई समाजले छिछि र दूरदूर थर्न थाले । उनीहरुलाई देखेपछि थुक्नेसम्मका कार्य हुन थाले । यसरी विस्तारै विस्तारै यस्ता कारिन्दाहरुलाई समाजबाट ठाढा राख्दैं श्रम र सीप लुट्ने परम्पराको विकास भयो । यो नै छुवाछुत प्रथाको पहिलो शुरुवाती थियो । त्यही परम्परामा टिकेर करिब १४औँ शताब्दीमा राजा जयस्थिति मल्ल पालामा विधिवत रुपमा जातको वर्गीकरण भई चार वर्ण छत्तीस जातमा विभाजनको बिजारोपण गरिएको थियो । अब आधिकारिक रुपमा ब्राम्हण, क्षत्री, वैद्य र शुद्धको जातीय उपाधि दिने प्रचलनबाट नै छुवाछुत र भेदभावको प्रादुर्भाव हुन गएको हो ।

यसरी शुरु भएको जाति प्रथा राणाकालमा आएर झनै कानूनी रुपमा प्रदान गर्ने काम भएको छ । राणा शासनकालमा १९१० मा मुलुकी ऐन बनाइयो । तल्लो जाती मानिने समुदायहरुलाई कानूनी रुपमा नै दोस्रो दर्जाको नागरिकको रुपमा राखिएको छ । १९१० को मुलुकी ऐनमा स्पष्ट लेखिएको जातीय प्रारुप अत्यन्तै अमानवीय छ । जनतालाई वर्गीकरण गरी असमानताका काँडेतार तेस्र्याइएको छ । ब्राम्हण जात तागाधारी जनै लाउन पाउने र सबै जातीहरुमा सर्वोत्कृष्ट जात, क्षेत्रीमा पनि भरौँ क्षेत्री र क्षेत्री दुई भागमा विभाजन गरियो । तेस्रोमा मतवाली यसमा पनि मासिन्या मतवाली, मुत्युदण्ड दिए पनि हुने अर्को नमासिन्या मतवाली मुत्यु दण्ड दिन नहुने । चौथोमा हालको दलित जुन समुदायले नागाधारीदेखि लिएर मतवालीसम्मका समुदायहरुको सेवा गर्ने । जुन समुदायले माथिल्लो जातिलाई छुन नहुने । यदि छोइहालेको खण्डमा सुन पानीले चोखिनुपर्नेदेखि थुपै्र नियमहरु दलित समुदायहरुका निम्ति बनाइएका छन् । माथिल्लो जाति मानिनेहरु जग्गा बृत्ता पाउँथे भने तल्लो जाती मानिनेहरुलाई जग्गा बुत्ता दिइदैंन थियो । त्यसकारण आज देश भरीका दलित समुदायहरु जग्गा जमिनको हिसाबले सुकुम्बासी हुनुपरेको अवस्था विद्यमान छ ।

राजनीतिक हिसाबले विभिन्न समयमा ठूला–ठूला संघर्षहरु भए । राणाशासनविरुद्धको आन्दोलन, पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन, सामन्ती राजतन्त्रविरुद्धको आन्दोलन, जनयुद्ध यी सबै संघर्षहरुले ठूला–ठूला परिवर्तन ल्याए । उक्त आन्दोलनहरुमा दलितहरुको निम्ति आंशिकरुपमा केही अधिकार प्राप्त भए पनि समग्ररुपमा वास्तविक परिवर्तन हुन सकिरहेको छैन । वि.सं १९१० मा बनेको मुलुकी ऐनमा उल्लेखित नियमहरु अहिलेसम्म पनि दलित समुदायले भोग्नु परिरहेको छ । आज लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि यस्तो निकृष्ट कानून क्रस गर्न नसक्नु दुरभाग्य हो । राजनीतिक संघर्षहरुले दलितहरुको राजनीतिक चेतनामा परिवर्तन त ल्याएको छ । तर सांस्कृतिक हिसाबले उही परिस्थिति भोग्न बाध्य छन् । आज देशका विभिन्न ठाउँमा छुवाछुतका घटनाक्रमहरु एक पछि अर्को घटिदंै आइरहेका छन् । चुलो छोएको निहुँमा दलित मारिएका छन् । मलमुत्र खुवाउने, धारा, कुवा, पानी पछेरा, मठ, मन्दिरमा अपमान सहनुपरेको छ । अन्तर जातीय विवाहका कारण गाउँ निकाला हुनुपरिरहेको छ । यस्ता जघन्य अपराधका घटनाले अभैm पनि दलित समुदायको मुक्ती भएको मान्न सकिन्छ वा सकिदैंन । यसलाई कस्तो परिवर्तन मान्ने ? कुकुर र बिरालोभन्दा पनि तलको जीवन जिउन बाध्य छन् दलितहरु । बरु कुकुर र बिरालोले सम्मान पाएका छन् ।

कुकुर, बिरालोले माथिल्लो जातिको घरको कुनामा गएर बस्न पाएका छन् । दलित मानव हो तर बाहिर बसेरै खानुपर्ने, पशुभन्दा पनि तलको व्यवहार यो कस्तो मानवीयता हो ? अझैसम्म पनि बाली घरेप्रथा, लागिप्रथा, खालोप्रथा, हलिप्रथाहरुमा चरुवाप्रथा यस्ताप्रथाहरुमा जीवनयापन गर्न बाध्य छन् दलितहरु ।

सामन्तवादी राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि शासन व्यवस्थामा केही परिवर्तन त भयो । लिखित रुपमा ऐन नियम र कानूनमा जातीय विभेद गर्न नपाइने उल्लेख छ । जातीय विभेद छुवाछुतलाई जघन्य अपराध घोषणा त गरियो । तर एकाध घटनाहरु बाहेक समग्रमा कानूनमा उल्लेखित कुरा कार्यान्वयन हुन सकिएरहेको अवस्था देखिँदैन । यदि कार्यान्वयन पक्षमा सरकार कडाइका साथ लाग्ने होइन भने लेखिएका नियमहरु हात्तिको देखाउने दाँत बाहेक अरु केही हुनेवाला छैन । त्यसकारण समाजको अत्यन्तै सिपालु समुदाय दलित समुदाय समाजका सामाजिक सांस्कृतिक रुपले अन्य जातिसरह सम्मानपूर्वक जीवन जिउन पाउँदैनन् । तबसम्म पूर्ण मुक्तिको अभास गर्ने सकिने छैन । त्यसकारण जातीय सांस्कृतिक परिवर्तन नै दलित समुदायको परिवर्तनको पहिलो खुट्किलो हो । समाजमा सम्मानजनक जीवन बिताउन पाए मात्र राजनीतिक सामाजिक र आर्थिक परिवर्तनका बाटाहरु दलित समुदायमा आफै निर्माण हुन सक्नेछन् ।(नेपालबाेट)

प्रकाशित मितिः     २५ पुष २०७६, शुक्रबार २१:४४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *