फाल्गुण १६ काठमाडौ । देशैभर नागरिक र प्रहरीबीचको दूरी घटाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहेको छ । नागरिकको विश्वास जित्नका लागि प्रहरीले यस्तो अभियान चलाइरहेका बेला प्रहरीबाटै हुने एकाध व्यवहार र कार्यशैलीले उसैको अभियानलाई ‘खिल्ली’ उडाइरहेको भान दिन्छ ।
बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी एक महिलामाथि लाठी बर्साएका छन् ।
प्रहरीको एक जिम्मेवार अधिकृतले एक बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गरेको दृश्यले प्रहरी सङ्गठनको नारा एउटा र व्यवहार अर्को देखिएको स्पष्ट पार्छ । प्रहरीको निर्मम कुटाइ खाने ती महिला हुन् हेमा श्रेष्ठ । भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर पौडेलले श्रेष्ठलाई लाठी हानेका हुन् । खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले श्रेष्ठलाई लाठीचार्ज गरेका हुन् ।
खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको भन्दै माला शाह नाम गरेकी महिलाले श्रेष्ठसँगै केही महिलालाई साथमा लिएर खत्रीको घर पुगेकी थिइन् । महिलाहरुको भिड देखेपछि खत्रीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेका इन्सपेक्टर पौडेलले महिलामाथि बल प्रयोग गरेका हुन् ।
भिडियोमा देखिएका बेला बच्चालाई पिठ्युँमा बोकेकी श्रेष्ठलाई प्रहरीले गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेको छ । काखमा बच्चा बोकिरहेकी महिलालाई लाठीले पछाडिबाट जोडजोडले हिर्काउँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खेदाइरहेका देखिन्छ । पछि प्रहरीले ४ महिलालाई नियन्त्रणमा लिएको छ ।
यता, इन्सपेक्टर पौडेलले आफूले लाठी हानेको स्वीकारेका छन् । अर्काको घरभित्र छिरेर तोडफोड गरेपछि सामान्य बल मात्र प्रयोग गरिएको इन्सपेक्टर पौडेलको भनाइ छ । घटना हुँदा महिला प्रहरी पनि घटनास्थलमै रहेको बताएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले घटनामा दोषी देखिए कानुनअनुसार सशक्त रुपमा कारबाही हुने बताए । उनले भने, ‘दोषी देखिए कसैलाई पनि छोडिन्न । पौडेलमाथि अनुसन्धान सुरु भइसकेको छ ।’
छानबिन समिति गठन
कुनै महिलालाई पक्राउ गर्नुपरेमा मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ परिच्छेद २ मा महिला प्रहरीद्वारा पक्रन लगाउनुपर्ने व्यवस्था गरिएको छ । तर, महिलालाई कुट्न पुरुष इन्सपेक्टर पौडेल आफै अघि लागे ।
कार्यविधि आचारसंहितामा भनिएको छ, ‘पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्ने छैन ।’
हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको हो ।
ललितपुर परिसरकी प्रहरी उपरीक्षक ९एसपी० दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको छ । समितिलाई घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको छ ।