सिमकोट । पर्यटन संस्कृती तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले आन्तरिक विवाद चरम उत्कर्षमा पुगेपनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनैपनि नफुट्ने बताए ।
मंगलबार हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट पुगेका पर्यटन मन्त्री भट्टराइले हुम्लाका पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटमा उक्त कुरा बताएका हुन् । ‘विशाल दुईटा पार्टीबीचको एकता पश्चात सिद्धान्त र बीचानमा एकता ल्याउन वरिष्ठ नेताहरुबीचमा सचिवालय बैठकमा केही विवाद जस्तो देखिएको हो’, मन्त्री भट्टराईले भने, ‘नेताहरुबीचको बैचारीत मन्थनले पार्टीलाई थप मजवुत बनाउने काम गर्छ तर फुट्ने हो भनेर चिन्ता मान्न जरुरी छैन् ।’
सत्तारुढ नेकपाका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री भट्टराईले वर्तमान सरकारले लिएको समृद्ध नेपाल सुखि नेपालीको लक्ष्य पुरा गर्न पर्यटन क्षेत्रको ठूलो हात रहेको प्रतिक्रिया दिए । विकासका दृष्टिले पछाडि परेको हुम्लाको विकासमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेको उल्लेख गरेका भट्टराईले कैलास मानसरोवरको मूलद्धारका रुपमा चिनिने हुम्लाको पर्यटकिय क्षेत्रको बिकासको लागी आफू लागी पर्ने बताए ।
जिल्लाका नेता तथा कार्यकर्तासँगकोपरिचयात्मक कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य छक्क बहादुर लामाले जिल्लाको पर्यटकिय क्षेत्रको बिकासमा विमानस्थलको बिस्तार तथा विकास कोषेढुंगा सावित हुने उल्लेख गर्दै नेपाल विश्व्मै दुर्लभ मानिने वन्यजन्तु पाइने हुम्लाको लिमि क्षेत्रको संरक्षणमा लाग्न नेपाल सरकारलाई आग्रह गरे ।
धार्मिक, साँस्कृतीक, कृषि, पर्यवरणीय क्षेत्रको अनुगमन गर्न आनतरिक तथा बाह्य पर्यटकहरुको गन्तव्यका रुपमा हुम्ला बन्ने उल्लेख गर्दै नेकपा केन्द्रिय सदस्य बिजय भण्डारी प्रतिरोधले जिल्लाको पर्यपर्यनको विकासका लागि ठोस योजनाका साथ काम गर्नुपर्नेमा जोड दिए ।
विस्तारको काम भैरहेको सिमकोट विमानस्थलको अनुगमनका लागि आज (मंगलबार) बिहान जिल्ला पुगेका मन्त्री भट्टरार्इ वेलुका बाँकेको नेपालगञ्ज फर्केका छन् ।