काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारवादमा लिप्त भएको आरोप लगाएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘उहाँले मलाई ओलीको छोरोछोरी छैन। मेरा त छोरीज्वाइँ छन्। अनि मैले उनीहरूको लागि नगरेर कसलाई गर्नु? भन्नुभएको रहेछ’ उनले भने, ‘मेरो छोराछोरी छैनन्। होइन यो देशका सबै केटाकेटी मेरा छोराछोरी हुन्।’
उनले प्रचण्डलाई आफ्नो छोरीलाई जिताउनका लागि हार्ने अवस्थामा आएपछि मतपत्र च्यातेको बताएका छन्। ‘आफूलाई यहाँसम्म पुर्याउनेहरूको छोराछोरीको अवस्था कस्तो छ? तपाईले सोच्नुभएको छ?’ उनले प्रश्न गर्दै भने।
आफ्नो मुख्य उद्देश्य समृद्ध नेपाल सुखी नेपाली रहेको उनले बताए। ‘देश बनाउनु छ। कसैलाई प्रतिशोधको भावनाले जाने पक्षमा छैनौँ’ उनले भने, ‘देश बनाउनका लागि हाम्रो यात्रा तय गर्नुपर्छ, समाजमा विभिन्न प्रकारका व्यक्ति हुन्छन्। तीनले आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्छन्।’