अचेल के गर्दैछन् ज्ञानेन्द्र सरकारका सारथि ?


काठमाडौं । २०६१ साल माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सुरु गरेको दिन । माघ १९ को यही कदमले नेपालमा शाही शासनको सुरुवात मात्रै गराएन, गणतन्त्र स्थापनाको बीजारोपण समेत गर्यो । त्यसो त राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गते नै जननिर्वाचित सरकार अपदस्त गर्दै शासनमा प्रत्यक्ष सरोकार देखाएका थिए ।

माघ १९ गतेको कदमपछि भने ज्ञानेन्द्र आफैंले सत्ताको नेतृत्व लिए । आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद गठन गरे र तीन वर्षभित्रमा देशको समस्या समाधान गरेर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने दावी गरे । आफ्नै नेतृत्वमा मन्त्रिपरिषद गठन गर्ने शाही निर्णयले संसदवादी दलहरुलाई आन्दोलनको पक्षमा एकताबद्ध मात्रै गराएन, माओवादीसँग सहकार्यका निम्ति बाटो पनि खोलिदियो ।

यही सहकार्यले प्रत्यक्ष शाही शासनको मात्रै अन्त्य गराएन, २४० वर्ष पुरानो शाहवंशीय राजतन्त्रकै अन्त्य गराइदियो । ११ वैशाख, २०६३ मा जनताको नासो जनतालाई नै फिर्ता नगर्दासम्म राजा ज्ञानेन्द्रका सारथिहरु धेरै थिए ।

राजनीतिका पुराना खेलाडीहरु ‘तुलसी गिरी र कीर्तिनिधि विष्ट’ लाई ज्ञानेन्द्र नेतृत्वको मन्त्रिपरिषदमा उपाध्यक्षको जिम्मेवारी दिइएको थियो । पूर्व पञ्च पृष्ठभूमिका नेताहरुलाई मन्त्रिपरिषदमा भूमिका दिएका राजा ज्ञानेन्द्रले आफ्ना सारथिबाट कत्तिको सहयोग प्राप्त गरे त्यो खुलिसकेको छैन । तर आमरुपमा ‘गतिला सारथि’ र ‘सल्लाहकार’ नभएकै कारण राजा असफल भए भन्ने राजनीतिक निष्कर्ष बनेको देखिन्छ । शाही सरकारका अधिकांश सारथिहरु यतिबेला सक्रिय राजनीतिमा छैनन् । कतिपयको सार्वजनिक व्यक्तित्वसमेत देखिंदैन । कतिपय भने व्यवस्था बदलिए पनि ‘लाभ’ हासिल गर्न अग्रस्थानमै छन् ।

शाही सरकारका मन्त्री को के गर्दैछन् ?

डा. तुल्सी गिरी

राजा ज्ञानेन्द्रले मात्रै होइन उनका पिता राजा महेन्द्रले २०१७ सालमै शासन हातमा लिएपछि तुल्सी गिरीलाई मन्त्रिपरिषदको उपाध्यक्ष बनाएका थिए । २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि मुलुक छाडेर श्रीलंका पुगेका गिरी २०६१ साल माघ १९ पछि मात्रै नेपाल फर्किए । गिरीलाई नेपाल फर्काएर राजा ज्ञानेन्द्रले आफ्नो मन्त्रिपरिषदमा उपाध्यक्षको भूमिका दिएका थिए । शाही शासन ढलेपछि भने गिरी नेपालमै बसे । राजनीतिक सक्रियता छाडेका गिरीको २०७५ साल पुस ३ गते ९३ वर्षको उमेरमा निधन भयो ।

कीर्तिनिधि विष्ट

शाही मन्त्रिपरिषदमा उपाध्यक्ष रहेका कीर्तिनिधि विष्ट पनि राजा महेन्द्र र ज्ञानेन्द्र दुवैले विश्वास गरेका पात्र हुन् । पटक–पटक मन्त्री भइसकेपछि २०२५ सालमा राजा महेन्द्रले विष्टलाई पहिलोपटक प्रधानमन्त्री नियुक्त गरेका थिए ।

त्यतिबेला साढे ४ वर्ष सरकार चलाएका विष्टकै पालामा सिंहदरबारमा आगलागी भएको थियो । सिंहदरबार जलेपछि नैतिकताका आधारमा उनले प्रधानमन्त्री पद त्यागेका थिए । उनी २०३४ सालमा दोस्रो पटक नेपालको प्रधानमन्त्री बने ।

प्रजातन्त्र पुनःस्थापनापछि राष्ट्रिय जनता परिषद खोले पनि विष्टले कुनै संसदीय निर्वाचन जित्न सकेनन् । यहीकारण राजनीतिक भूमिकामा नदेखिएका विष्ट ज्ञानेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदमा उपाध्यक्ष बनाइए । २०६१ साल माघ १९ को शाही कदमपछि राजा ज्ञानेन्द्रको राजनीतिक कदमलाई सफल बनाउने अभियानमा विष्ट सफल रहेनन् । २०७४ साल कात्तिक २५ गते ९१ वर्षको उमेरमा विष्टको निधन भयो ।

कमल थापा

सात राजनीतिक दल र तत्काली विद्रोही नेकपा माओवादीबीच १२ बुँदे सहमति भएपछि राजा ज्ञानेन्द्रले मन्त्रिमण्डल फेरबदल गरे । २०६२ मंसिर २२ मा गृहमन्त्रीको जिम्मा कमल थापाले पाए । पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थापा हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष छन् । शाही शासनको निरन्तरताका लागि आन्दोलन दबाउने मुख्य पात्रका रुपमा थापा परिचित छन् ।

जनआन्दोलनका दोषी ठहर भएपनि गणतन्त्र स्थापनापछि पनि सबैभन्दा बढी लाभ लिने शाही मन्त्री यिनै हुन् । संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्रको एजेण्डा बोकेर दोस्रो संविधानसभामा समानुपातिकबाट मात्रै २४ सिट हासिल गरेपछि सत्ता राजनीतिमा थापा निर्णायक बने ।

संविधान निर्माणपछि २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा थापा उपप्रधानसहित परराष्ट्र मन्त्री बने । त्यसपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि थापा उपप्रधान तथा स्थानीय विकास मन्त्री बने । त्यस्तै गत निर्वाचन अघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा समेत थापा उपप्रधानमन्त्री थिए । मकवानपुरबाट प्रतिनिधिसभामा पराजित रहेका थापा राप्रपालाई वैकल्पिक शक्ति बनाउने अभियानमा क्रियाशील छन् ।

बद्रीप्रसाद मण्डल

२०५९ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका बद्रीप्रसाद मण्डल शाही सरकारमा कृषि तथा सहकारी मन्त्री थिए । शाही कदमको पक्षमा देशभर भाषण गर्दै हिंडेका मन्त्री मण्डल लोकतन्त्र स्थापनापछि केही समय शान्त रहे ।

लामो समय सद्भावना पार्टीबाट राजनीति गरेका मण्डलले गणतन्त्र स्थापनापछि पनि राजनीतिमा भूमिका बढाउने प्रयास नगरेका होइनन् । गत आमनिर्वाचनमै राजपाका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ मा उनले उम्मेदवारी दिएका थिए । हाल उनी जनता समाजवादी पार्टीमा भए पनि सार्वजनिक रुपमा चर्चामा छैनन् ।

रमेशनाथ पाण्डे

शाही सरकारका परराष्ट्रमन्त्री हुन् , रमेशनाथ पाण्डे । परराष्ट्रविद् समेत रहेका पाण्डे हाल राजनीतिक रुपमा सक्रिय छैनन् । राजा ज्ञानेन्द्रले विश्वास गरेपनि उनले शाही सरकारका लागि ‘अन्तर्राष्ट्रिय समर्थन’ जुटाउने योगदान गर्न सकेनन् । लोकतन्त्र स्थापनापछि कूटनीतिक लेखनका क्षेत्रमा बढी सक्रिय रहेका पाण्डे सक्रिय राजनीतिक भूमिकामा छैनन् ।

राधाकृष्ण मैनाली

शाही सरकारका चर्चित मन्त्रीमध्ये हुन्, राधाकृष्ण मैनाली । गर्विलो वाम पृष्ठभूमि छाडेर शाही मन्त्री बन्न गएपछि मैनालीले तीव्र आलोचना खेपेका थिए । हालसम्म पनि उनलाई ‘राजावादी कम्युनिष्ट’ का रुपमा चिन्ने गरिन्छ । लोकतन्त्र स्थापनापछि माओवादी हुँदै उनी एमालेमै प्रवेश गरेका थिए ।

झापा विद्रोहबाट राजनीतिक उदय लिएका मैनालीका लागि शाही मन्त्री स्वीकार्नु राजनीतिक अवनतिको बाटोका रुपमा रह्यो । हाल राजनीतिक भूमिकामा नरहे पनि बेला बेला अन्तर्वार्ता दिएर उनी चर्चामा आउने गर्छन् ।

प्रकाश कोइराला

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाका जेठा छोरा प्रकाश शाही सरकारमा वातावरण,विज्ञान तथा प्रविधि मन्त्री थिए । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेकै बेला शाही सरकारमा मन्त्री बनेपछि कांग्रेसले कोइरालालाई निष्कासन गरेको थियो । कांग्रेसले वीपीको विचार बिर्सेको आरोप लगाउने कोइराला अहिले पनि संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्रको वकालत गरिरहन्छन् ।

राष्ट्रवादी कांग्रेस नामक पार्टी खोले पनि उनी राजनीतिमा सक्रिय देखिंदैनन् । उनका भाइहरु डा.शशांक कोइराला र डा.शेखर कोइराला कांग्रेस नेतृत्वका दावेदार छन् । उनकी छोरी मनिषा कोइराला राजासहितको प्रजातन्त्रको पक्षमा खुल्न थालेकी छन् भने छोरा सिद्धार्थले सुनसरीबाट कांग्रेसको राजनीतिमा मेहेनत गरिरहेका छन् ।

टंक ढकाल

शाही सरकारका प्रवक्ता समेत रहेका तत्कालीन सञ्चारमन्त्री टंक ढकाल पनि शाहीकालका चर्चित पात्र हुन् । राजाको पक्ष र तत्कालीन सात राजनीतिक दलको आन्दोलनको विपक्षमा ढकालले दिएका अभिव्यक्तिहरु निकै चर्चामा आउने गर्थे ।

लोकतन्त्र स्थापनापछि मुख्य राजनीतिक भूमिकामा नभए पनि ढकाल हाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय छन् ।

श्रीषशमशेर राणा

राजा ज्ञानेन्द्रले मन्त्रिपरिषद पुनर्गठन गरेपछि २०६२ मंसिर २२ गते कमल थापासँगै शाही सरकारमा श्रीषशमशेरको प्रवेश भएको थियो । सञ्चार मन्त्रालयको नेतृत्व गरेका उनैले लोकतान्त्रिक आन्दोलनका दौरान प्रेस स्वतन्त्रता विरोधी कठोर नीति अख्तियार गरेका थिए । हाल राजतन्त्र पुनःस्थापनाको अभियानमा राणा सक्रिय रहेका छन् ।

सलिम मियाँ अन्सारी

नेकपा एमालेका तर्फबाट २०५१ सालमा बारा ४ मा निर्वाचित भई सांसद बनेका सलिम मियाँ अन्सारी शाही सरकारमा वन तथा भू संरक्षण मन्त्री थिए । राजनीतिक मात्रै नभई गैर राजनीतिक भूमिकाका कारण समेत चर्चामा आउने अन्सारीका छोरा युनुस अन्सारी नक्कली भारतीय नोट कारोबारको मुद्दामा जेलमा रहेका छन् ।

शाही मन्त्री अन्सारीले लोकतन्त्र स्थापना पछि समाजवादी पार्टी नेपाल गठन गरे पनि स्थापित गराउन सकेनन् । मिर्गाैलाको रोगबाट पीडित अन्सारीको २०७१ साल चैतमा उपचारका क्रममा निधन भयो ।

कृष्णलाल थकाली

राजा ज्ञानेन्द्र नेतृत्वको शाही सरकारमा मात्रै होइन, त्यसअघि अपदस्त देउवा सरकारमा समेत मुस्ताङका कृष्णलाल थकाली सामान्य प्रशासन मन्त्री थिए । देउवा सरकारमा दरबारको कोटाबाट मन्त्री भएका थकालीले शाही सरकारमा पनि निरन्तरता पाए । हाल उनी राजनीतिक र सार्वजनिक रुपमा सक्रिय छैनन् ।

बुद्धिराज बज्राचार्य

शाही सरकारमा संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री रहेका बुद्धिराज बज्राचार्य पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । ललितपुर नगर पञ्चायतको प्रमुख रहेका उनी ललितपुर उपमहानगरपालिकाको पूर्व मेयरसमेत हुन् । संस्कृतिकर्मीको समेत पहिचान बनाएका बज्राचार्य हाल राजनीतिक रुपमा सक्रिय छैनन् ।

दानबहादुर शाही

राजा ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद गठन गर्दा पहिले गृह मन्त्रालयको नेतृत्व दानबहादुर शाहीलाई दिएका थिए । पुनर्गठनपछि यो जिम्मेवारी कमल थापाले पाए । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका शाही लोकतन्त्र स्थापनापछि चर्चामा रहेनन् । उनको २०७५ जेठ २० गते ७६ वर्षको उमेरमा निधन भयो ।

खड्गबहादुर जिसी

शाही सरकारमा स्थानीय विकास मन्त्रालयको नेतृत्व गरेका खड्गबहादुर जिसी लोकतन्त्र स्थापनापछि राजनीतिक मञ्चमा देखा परेनन् । हाल उनको निधन भइसकेको छ ।

रामनारायण सिंह

शाही सरकारमा श्रम तथा यातायात मन्त्री रहेका रामनारायण सिंह राष्ट्रिय जनता पार्टी हुँदै हाल जनता समाजवादी पार्टीको राजनीतिमा सक्रिय रहेका छन् ।

मधुकर शमशेर राणा

अर्थतन्त्रका विज्ञका रुपमा कहलिएका मधुकर शमशेरलाई राजा ज्ञानेन्द्रले अर्थ मन्त्रालयको नेतृत्व सुम्पेका थिए । बौद्धिक पृष्ठभूमिका राणा लोकतन्त्र स्थापनापछि सक्रिय राजनीतिमा रहेनन् । अर्थशास्त्रको प्राध्यापक समेत रहेका राणाको २०७६ असोज २९ गते निधन भयो ।

निरन्जन थापा

शाही शासनका कानूनमन्त्री निरञ्जन थापा पनि गणतन्त्रको लाभ लिनेमा नेतामध्येमा पर्छन् । इजरायलका लागि नेपाली राजदूतको नियुक्ति पाएका थापालाई ओली सरकारले फिर्ता बोलाएको थियो । हाल उनी राप्रपाको केन्द्रीय राजनीतिमा सक्रिय छन् ।

दुर्गा श्रेष्ठ

शाही सरकारकी महिला बालबालिका तथा समाजकल्याण मन्त्री दुर्गा श्रेष्ठ हाल राप्रपाको राजनीतिमै सक्रिय छिन् ।

डा. दुर्गा पोखरेल

मन्त्रिपरिषद पुनर्गठन भएपछि २०६३ मंसिर २२ मा महिला मन्त्री बनेकी डा. दुर्गा पोखरेल लोकतन्त्र स्थापनापछि नेपाल बाहिर छिन् । हाल उनी सपरिवार अमेरिकामा बस्दै आएकी छिन् ।

शाही मन्त्रिपरिषदमा स्थानीय विकास सहायक मन्त्री रहेका हुम्लाका छक्कबहादुर मल्ल यतिबेला नेपाल कम्युनिष्ट पार्टीको नेता हुन् । हुम्लाबाट स्वतन्त्र लडेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामा हाल नेकपा माधव प्रचण्ड समूहमा आबद्ध छन् ।

शाही सरकारमा अर्थ सहायक मन्त्री रहेका उद्योगी रुप ज्योति हाल व्यापार व्यवसायमै सक्रिय छन् । शाही सरकारकी पर्यटन सहायक मन्त्री याङकिला शेर्पा हाल ट्राभल ट्रेकिङको व्यवसायलाई नै निरन्तरता दिइरहेकी छिन् । शाही सरकारमा भौतिक योजना तथा निर्माण सहायक मन्त्री रहेका जगत गौचन राप्रपाको सक्रिय राजनीतिमै छन् । स्वास्थ्य सहायक मन्त्री निक्ष शमशेर राणा र शिक्षा सहायक मन्त्री सिनेट श्रेष्ठ भने हाल राजावादी आन्दोलनमा सक्रिय छन् ।

Nepalpree बाट साभार

प्रकाशित मितिः     १९ माघ २०७७, सोमबार २१:३५  |