एक बालीलाई तेस्रो पटक हलो जोत्दै किसानः पानी नै नपर्दा किसानहरु चिन्तीत ।


साउन १२ हुम्ला । यस वर्ष हुम्लाका किसानहरुले एउटै बालीलाई तेस्रो पटक सम्म हलो जोत्न बाध्य भएका छन् । सिचाईको सुविधा नभएको हुम्ला लगायतका विभिन्न क्षत्रमा यस वर्ष ढिला पानी पर्दा एउटै बालीलाई तिन पटक सम्म हलो जोतेर बाली लगाउन बाध्य भएका छन् ।

आकासेभरमा बाली लगाउँदै आएका जिल्लाको तल्लो क्षेत्रमा रहेका अदानचुली गाउँपालिका वडा नम्बर १ कल्खेका अधिकांस नागरिकहरुले अषाढ महिना यता एउटै बारीमा तिन पटक सम्म हलो लगाएको वडा नम्बर १ का वर्ष महताराले बताउनु भयो । उहाँका अनुसार वैशाख ४ गतेका दिन आएको वर्षा लगत्तै यहाँका नागरीकहरुले कोदो र कागुनुको बिउ राखे तर त्यस यता पानी नै नपर्दा सबै बिउ सुकेर गयो फेरी अषढ पहिलो साता एक दिन सामान्य पानी परेपछि पनि यहाँका किसानहरुले उहि बारीमा कोदो, कागुनु सहित मकै भटमास समेत छरे तर त्यस पछि पनि पानी नपरेपछि फेरी पनि सबै बिउ सुन्न गए पछि बल्ल अहिले यतिबेला सबै कृषकहरु फेरी तेस्रो पटक हलो लगाउन बाध्य भएको बताउनु भयो ।

यस क्षेत्रमा कुनैपनि सिचाई सुविधा छैन, खानेपानी बाहेक अन्य सिचाई सुबिधा नभएका कारण आकासकै भरमा बाँच्नु पर्ने बाध्यता रहेको अर्का किसान उब्जन थापाको भनाई छ । उनका अनुसार आफ्नो घरमा ६ जनाको परिवार छ घरमा कुनै रोजगारी छैन खेती किसानी बाहेक अन्य कुनै आधार नभएकाले वर्षभरी आफ्नो जग्गा जमिनमा काम गर्ने भएपनि वर्षमा ४० देखी ५० बोरा चामल कनिर खाने गरेका बताउनु भयो ।

आफु गाउँमा आएका विकास योजनाको काममा जाने र अन्य घरपरिवार घरखेतको काम गरी जिविको पार्जन गर्ने भएपनि यस वर्ष झनै गाह्रो हुँने भन्दै निकै चिन्तित भएका छन् । लगाएको बाली सबै सुकेर गयो, एकै बारीमा ति पटक सम्म हलो लगाए अब ढिला भैसक्यो बाली पाक्ने सम्भावना कमै छ । उनले भने यस वर्ष घरपरिवार पाल्न विदेश वा भारत जानु बाहेकको विकल्प देखीदैन ।

यो क्षेत्रमा साउन ७ गते भन्दा पछि मात्रै सामान्य वर्षा भैरहेको छ त्यस यता पनि बाली लगाउने खालको पानी परेको छैन । नेपाल सरकार मौषम पुर्वानुमान महासाखाले सतर्क रहन आग्रह गरी रहेको भएपनि यस क्षेत्रमा भने पानी नै नपर्दा यहाँका किसानहरु निकै चिन्तीत रहेका छन् । यहाँका नागरीकहरुको न कुनै सिचाई योग्य जमिन छ नत कुनै सिचाई सुविधानै छ । –––कालीबहादुर थापा

प्रकाशित मितिः     १३ श्रावण २०८२, सोमबार १९:५१  |