आवश्यक पूर्वाधार विकासको प्रतीक्षामा – हुम्ला र मुगु कर्णालीको संगम स्थल दौमुख ।


 हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली र मुगु कर्णाली नदीको संगमस्थल दोमुख पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ । कर्णाली करिडोरसँग जोडिएको दोमुख हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ मा पर्दछ भने हुम्ला कर्णाली नदीपारिको क्षेत्र मुगुको सोरु गाउँपालिका वडा नम्बर ३, पर्छ भने मुगु कर्णाली पारी सोरु गाउँपालिकाकै १० र ११ अन्तर्गत धैन पर्ने गरेको छ ।

हुम्ला तर्फ रहेको दोमुख बजार अदानचुली गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमध्ये एक मानिन्छ । कर्णाली करिडोर सञ्चालनमा आएपछि यहाँ व्यापारिक गतिविधि बढ्दै गएको दोमुख बजार ब्याबस्थापन समितिका अध्यक्ष शेर बहादुर बुढाले बताउनु भयो । उहाँका अनुसार हुम्ला र मुगुका नागरिकहरूको आवतजावत तथा किनमेलका लागि समेत दोमुख बजार महत्वपूर्ण केन्द्र बनेको छ । करिडोर भएका कारण यात्रामा आएका देश बिदेशका नागरीकले समेत सो क्षेत्रमा ब्यापार ब्याबसाय गर्दै आएको बताउनु भयो ।

प्राकृतिक रूपमा आकर्षक रहेको दोमुख क्षेत्रमा हुम्ला कर्णाली र मुगु कर्णाली नदीको संगमले थप सौन्दर्य थपेको छ । नदी किनार, वरिपरिका पहाड र प्राकृतिक वातावरणका कारण यहाँ आन्तरिक पर्यटनको राम्रो सम्भावना रहेको देखिन्छ । तर आवश्यक पर्यटकीय पूर्वाधार, प्रचारप्रसार तथा व्यवस्थापनको अभावमा यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन । सो क्षेत्रमा बिभिन्न धार्मिक संस्कार समेत परापुर्व कालदेखी चल्दै आएकाले सो क्षेत्रमा मन्दिर सहितको पुर्वाधारको पर्खाइमा रहेको छ ।

स्थानीयवासीका अनुसार दोमुख क्षेत्रमा पर्यटक विश्रामस्थल, दृश्यावलोकन स्थल, खानेबस्ने सुविधा तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्न सके पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ कर्णाली करिडोरसँगको पहुँचले यस क्षेत्रलाई अझ बढी सम्भावनायुक्त बनाएको छ ।

प्राकृतिक सौन्दर्य, नदीको संगमस्थल, व्यापारिक महत्व तथा माछा उत्पादनको केन्द्रका रूपमा परिचित दोमुख अहिले पनि आवश्यक पूर्वाधार र प्रवद्र्धनको प्रतीक्षामा रहेको छ । साथै, दोमुख क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । यहाँका स्थानीय नागरिकहरूले गौजो काट्ने देखी, ब्रतबन्ध, काजक्रिया, मृत्यु संस्कार तथा विभिन्न धार्मिक एवं सांस्कृतिक अनुष्ठानहरू सम्पन्न गर्ने थलोको रुपमा प्रयोग गर्दै आएका छन् । यसले दोमुखलाई केवल पर्यटकीय र व्यापारिक केन्द्र मात्र नभई स्थानीय समुदायको आस्था र संस्कृतिसँग जोडिएको महत्वपूर्ण स्थलका रूपमा समेत स्थापित गरेको छ ।

पछिल्लो समय दोमुख क्षेत्र कर्णालीमा पाइने विभिन्न प्रजातिका माछाका लागि समेत मुख्य केन्द्रबिन्दु बन्दै गएको छ । माछा पारखीहरू तथा स्थानीयहरू दोमुख क्षेत्रलाई कर्णालीका स्वादिष्ट माछा पाइने महत्वपूर्ण स्थानका रूपमा चिन्ने गरेका छन । यसले यहाँको व्यापारिक गतिविधिलाई समेत टेवा पुर्‍याएको छ ।

प्रकाशित मितिः     २४ जेष्ठ २०८३, आईतवार २३:१६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *