स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा कार्ययोजना निर्माणका लागि आमभेला ।।


अदानचुली गाउँपालिकाको आयोजनामा श्रीनगर स्वास्थ्य चौकी र लौठी स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा आगामी कार्ययोजना निर्माणका लागि आमभेला सम्पन्न भएको छ । पालिकामा पहिलो पटक स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा आगामी कार्ययोजना निर्माणका लागि आमभेला गरिएको हो ।

कार्यक्रममा सामाजिक परीक्षणकर्ता विश्वनाथ खत्रीले श्रीनगर र लौठी स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य संस्थाले प्रदान गरिरहेका सेवा, सेवा प्रवाहको अवस्था, उपलब्धि, चुनौती तथा सुधार गर्नुपर्ने पक्षबारे विस्तृत जानकारी दिनुभएको थियो । उहाँले सामाजिक परीक्षणले स्वास्थ्य सेवामा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै प्रतिवेदनमा उठाइएका सुझाव कार्यान्वयनमा सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख बिनोद बुढाले स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउन सामाजिक परीक्षण उपयोगी माध्यम भएको बताउँदै प्रतिवेदनमा समेटिएका सुझावलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने जानकारी दिनुभयो। उहाँले गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय, सहज र नागरिकमैत्री बनाउन आवश्यक योजना तथा स्रोत व्यवस्थापनमा निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले सामाजिक परीक्षणलाई औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी सुधारको आधारका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले सेवा प्रवाहमा देखिएका कमी–कमजोरीलाई समयमै सुधार गर्दै सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनाउन गाउँपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । साथै, सामाजिक परीक्षणबाट प्राप्त सुझाव र गुनासालाई कार्ययोजनामार्फत कार्यान्वयन गरी स्वास्थ्य संस्थाप्रति नागरिकको विश्वास अझ बलियो बनाइने बताउनुभयो । प्रतिवेदनमा सबै कुरा समेटिएकोमा खुसी ब्यक्त गर्दै नागरीकका सुझाबलाई सिरोधार्य गरी सुधारेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

सभाध्यक्ष डिल बहादुर फडेराले स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य संस्था, जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय समुदायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले सामाजिक परीक्षणले स्वास्थ्य संस्थाको वास्तविक अवस्था पहिचान गरी सुधारका लागि स्पष्ट मार्गनिर्देशन गर्ने भएकाले प्रतिवेदनमा उल्लेख भएका विषयलाई कार्यान्वयनमा लैजान सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । स्थानिय सरकाले समेत स्वास्थ्य क्षेत्रमा महत्व दिएकाले आफहरुपनि लागेको र पहिलो चरणको अबस्थामा भौतिक अबस्था निर्माणको क्रममै भएकाले सरकारमा रहदा वा नरहदा लागि रहने बताउनुभयो ।

कार्यक्रममा सहभागी अन्य वडा अध्यक्ष, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकहरूले स्वास्थ्य सेवाको पहुँच, औषधिको नियमित उपलब्धता, मातृ तथा शिशु स्वास्थ्य सेवा, स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार, सरसफाइ तथा सेवाको गुणस्तर सुधारका विषयमा आफ्ना सुझाव तथा धारणा राखेका थिए ।

छलफलका क्रममा सामाजिक परीक्षण प्रतिवेदनमा उठाइएका विषयलाई आधार मानेर स्वास्थ्य सेवा सुधारका लागि प्राथमिकताका क्षेत्र निर्धारण गरिएको थियो । औषधि आपूर्ति व्यवस्थापन, स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता विकास गर्ने तथा स्वास्थ्य संस्थाप्रति नागरिकको सहभागिता र निगरानीलाई सुदृढ बनाउने लगायतका विषय समेटेर कार्ययोजना तयार गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक परीक्षणबाट प्राप्त सुझावलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गुणस्तरीय, पारदर्शी र उत्तरदायी स्वास्थ्य सेवा प्रवाहका लागि सबै पक्षले साझा प्रतिबद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मितिः     २४ असार २०८३, बुधबार १८:२१  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *