देउसी–भैलोबाट हुम्लाको छत्रपाल आधारभूत विद्यालयले जुटायो झण्डै ९ लाख रुपैयाँ ।।


हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–३ स्थित श्री छत्रपाल आधारभूत विद्यालयको जग्गा खरिद तथा विद्यालय परिसर विस्तारका लागि सञ्चालन गरिएको देउसी–भैलो कार्यक्रमबाट ८ लाख ९५ हजार ६ सय ११ रुपैयाँ संकलन गरेको छ ।

विद्यालयको जग्गा साँघुरो भएकाले थप जग्गा खरिद गरी विद्यालय परिसर फराकिलो बनाउने उद्देश्यले दीपावलीको अवसरमा आयोजित देउसी–भैलो कार्यक्रम मार्फत उक्त रकम संकलन गरिएको विद्यालयका प्रधानाध्यापक जगतबहादुर भियालले बताउनुभयो ।

उक्त अभियानमा सबैभन्दा बढी सहयोग गर्ने सोहि विद्यालयका शिक्षक समेत रहेका अदानचुली २ का अखिल भण्डारीले ५० हजार रुपैयाँ प्रदान गर्नुभएको छ । त्यसैगरी विद्यालयका प्रधानाध्यापक जगतबहादुर भियालले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

देउसी–भैलो अभियानमा सबैभन्दा बढी रकम अदानचुली गाउँपालिका–३ बाट संकलन भएको बताउनु भयो ।
प्रधानाध्यापक भियालका अनुसार हालसम्म संकलित रकम अदानचुली गाउँपालिकाका वडा नम्बर २ देखि ६ सम्मको मात्रै हो। देउसी–भैलोबाट यति ठूलो रकम संकलन गर्ने विद्यालय हुम्लाकै इतिहासमा पहिलो भएको उहाँको दाबी छ । गत वर्ष आगलागीबाट विद्यालय भवनमा क्षति पुगेको यस विद्यालयले भौतिक पूर्वाधार विकाससँगै जग्गा विस्तारलाई प्राथमिकता दिएको छ ।

दीपावली सकिएपछि विद्यालय सञ्चालन गर्नुपर्ने भएकाले देउसी–भैलो कार्यक्रम बीचमै रोकिएको भए पनि जग्गा खरिदको अभियान भने जारी रहने प्रधानाध्यापक भियालले बताउनुभयो । उहाँले विद्यालयको भविष्य र बालबालिकाको सहज शैक्षिक वातावरण निर्माणका लागि थप सहयोग गर्न स्थानीयवासी, देश तथा विदेशमा रहेका शुभेच्छुक र सहयोगी मनहरूलाई अपिलसमेत गर्नुभएको छ ।

विद्यालयको साँघुरो जग्गा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानमा स्थानीय समुदायबाट प्राप्त उत्साहजनक सहयोगले सामुदायिक शिक्षाप्रतिको साझा जिम्मेवारी र एकताको उदाहरण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज फडेराले बताउनु भयो ।

प्रकाशित मितिः     ३ मंसिर २०८३, बुधबार १९:०७  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *