अशक्त ब्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान


हुम्ला । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–१, तङ्गिनका शारिरिक रुपले अशक्त छिरिङ सुन्डुप तामाङले ७५ वर्षको उमेरमा नेपाली नागरिकता पाउनुभएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्ला प्रशासन कार्यालयमा आएर नागरिकता प्रमाणपत्र लिन नसक्ने तामाङलाई घरमा नै गएर आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

जिल्लाको दुर्गम मानिएको यस क्षेत्रमा यातायातको सहज पहुँच नहुनु र सदरमुकामसम्म ल्याएर नागरिकता बनाउन सक्ने अवस्था नरहेकाले उहाँको घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ पाण्डेले बताउनुभयो । नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि तामाङ सहित परिवार खुसी भएका छन । नागरिकता प्राप्त भएसँगै अब तामाङले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बाटो खुलेको छ ।

नागरिकता प्राप्त पछि तामाङले सामाजिक सुरक्षा भत्ताका लागि सोमबार गाउँपालिकामा गेर प्रक्रिया सुरु गर्ने भएका छन । यस अघि नागरिकता नहुदा ७५ बर्ष सम्म पनि सरकारले दिने कुनै पनि अनुदानबाट बन्चित भएका थिए ।

प्रकाशित मितिः     २८ बैशाख २०८२, आईतवार २०:०७  |