सिमकोट । गर्भवती तथा सुत्केरी आमालाई हुम्लाको सिमकोट गाउँपालिकाले एक–एक वटा कुखुरा कोशेली प्रदान गरेको छ ।
सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी आमालाई कुखुरा वितरण गरेको हो । पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले प्रत्येक आमालाई एक–एक वटा कुखुरा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
सिमकोट गाउँपालिका पोषण शाखाका संयोजक दिपेन्द्र भण्डारीका अनुसार, आमा तथा शिशुको स्वास्थ्य सुदृढ बनाउन र घरमै पोषणयुक्त खाद्य सामग्रीको उपलब्धता बढाउन यो कार्यक्रम सञ्चालन गरिएको हो । “सुनौलो हजार दिन” अवधिमा उचित पोषणले आमा र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्तो पहल गरिएको हो ।
गाउँपालिकाले पूर्ण पोषणमैन्त्री वडा घोषणा अभियानलाई सफल बनाउन समेत यस कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएको छ । स्थानीय स्तरमै अण्डा तथा मासुको उत्पादन बढ्दै जाँदा आमाहरूको पोषण अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।
यस कार्यक्रमबाट लक्षित वर्गका आमाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् भने समुदायमा पोषण सम्बन्धी जनचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर २,३,४ र ५ का सुनौलो हजार दिनका आमालाई वितरण गरेको संयोजक भण्डारीले जानकारी दिए ।
