हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर २ का दुई बस्ती यतिबेला पहिरोको उच्च जोखिममा रहेका छन । बर्षा समय सुरु भएसँगै वडा नम्बर २ को खलसेरा बस्ती र थपाली बस्ती पहिरोको उच्च जोखिममा रहेका हुन ।
५४ घरधुरी रहेको खलसेरा बस्तीको तलको भाग कटान भएको र माथिल्लो भागसँगैको जमिन समेत फुस्रो माटो भएका कारण बर्षा लाग्ने बित्तिकै बस्ती नै बगाउँ छ की भन्ने पिर हुने गरेको स्थानिय सुरेन्द्र बुढाले बताउनु भयो । उहाँका अनुसार अरु समयमा खासै बस्नका लागि योग्य भएको भएपनि बर्षा सिजन सुरु हुने बित्तिकै कतिबेला घर सहित जमिन बगाउने हो भन्ने चिन्ताले सिंगो गाउँ त्रासमा बसेको छ ।
गाउँ तलको जमिन बर्सेनि पहिरो गएर गाउँकै छेउसम्म आइपुगेको छ । बर्खामा पानी धेरै पर्दा पहिरोको डरले यहाँका मानिस गाउँ छोडेर अन्त जानु पर्ने बाध्याता रहेको छ । बस्ती नै पहिरोको उच्च जोखिममा छ । बर्खाको समयमा रातभरि डराएर जाग्राम बस्ने गरेको दुःखेसो पोख्नुभयो । पहिले बर्षा याममा मात्र बस्ने बस्ती भए पनि पाँच/छ वर्षयता गल्बाको गाउँ भन्दा बाह्रै महिना स्थानीय सो बस्तीमै बस्न थालेका हुन ।
सोही वडाकै ३५ घरधुरी बसोबास गर्दै आएको थपाली बस्तीपनि पहिरोको उच्च जोखिममा रहेको छ । सो बस्तिको माथि भिर र बस्तीको बिच भागमा श्रीनगरबाट भलपानि सहितको पहिरो जाने भएकाले बस्ती जोखिममा रहेको हो । बस्ती जोखिम हुँदै हुँदै पनि अन्यत्र जाने उपयुक्त स्थान नभएका कारण पहिरोको त्रासमै उनिहरु ब्स्नु पर्ने बाध्यता रही आएको छ । बलौटे माटो खसिरहने भएकाले कुनै पनि समयमा पहिरो जान सक्ने अनुमान छ ।
उक्त बस्तीसँग गल्फागाड श्रीनगर सडक खण्ड जोडिएका कारण स्थानीयले बस्ती छोड्न मानेका छैनन् । गल्फागाड खोलाले समेत सो बस्तीको केही भाग काट्दै आएको छ ।
२ नम्बर वडा कार्यालयले यस बस्तीलाई पहिरोको अति उच्च जोखिममा पहिचान गरेको छ । सो बस्ती बिस्तारका लागि पटक पटक गाउँपालिका बिपत ब्याबस्थापन समिति, जिल्ला बिपत ब्याबस्थापन समितिमा सुचिकृत गराउदा पनि प्रदेशसम्म पुग्न नसकेको वडा अध्यक्ष नन्द महताराले बताउनु भयो । उहाँका अनुसार यी दुई बस्ती बिस्तारका लागि आफुले धेरै पटक प्रदेशमा गएर गुनासो गरेको भएपनि सुनुवाइ नभएको बताउनु भयो ।
दुबै बस्तीका सबै घर परम्परागत ढुङ्गा र माटोसँगै जस्ता पाताले छाइएका छन । वडा अध्यक्ष महताराले भने बस्तीमाथि भिरालो र ढुङ्गा खसिरहने भिर छ । तल बलौटे माटो भएकाले यो ठाउँ पहिरोको उच्च जोखिममा रहेको छ । स्थानीयको उपयुक्त स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग गृहकार्य भइरहेको पनि उहाँले बताउनु भयो ।
