हुम्लाको सर्केगाड गाउँपालिका–१ र मुगुको सोरु गाउँपालिका–५ लाई जोड्ने नेरघाट बेलिबृज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। निर्माण कार्य अन्तर्गत पुलका दायाँ र बायाँ भागका स्टिल संरचना जडान गर्ने काम सम्पन्न भइसकेको छ भने अब तल्लो भागका स्टिल पार्ट जडान गर्ने काम मात्र बाँकी रहेको निर्माण पक्षले जनाएको छ।
हालसम्म स्थानीय नागरिकले आवतजावतका लागि नेरघाटस्थित झोलुङ्गे पुल प्रयोग गर्दै आएका छन्। झोलुङ्गे पुलबाट पैदल यात्रा सम्भव भए पनि सवारी साधन सञ्चालन गर्न नसकिने भएकाले स्थानीयले लामो समयदेखि मोटरेबल पुलको माग गर्दै आएका थिए। बेलिबृज निर्माण सम्पन्न भएपछि उक्त आवश्यकता पूरा हुने अपेक्षा गरिएको छ।
पुल सञ्चालनमा आएपछि हुम्ला र मुगुबीच सवारी साधनको आवतजावत सहज हुने, दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री तथा कृषि उत्पादनको ढुवानीमा सुविधा पुग्ने विश्वास गरिएको छ। यसले दुबै जिल्लाका नागरिकलाई शिक्षा, स्वास्थ्य, व्यापार तथा अन्य सेवा सुविधामा पहुँच विस्तार गर्न समेत सहयोग पुग्ने अपेक्षा छ।
स्थानीयवासीले पुल निर्माणको काम अन्तिम चरणमा पुगेकामा खुसी व्यक्त गरेका छन्। उनीहरूले बाँकी काम छिट्टै सम्पन्न गरी पुल सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
नेरघाट बेलिबृज निर्माण सम्पन्न भएसँगै हाल प्रयोगमा रहेको झोलुङ्गे पुल पैदल यात्रुका लागि मात्र सीमित रहने र सवारी साधनका लागि नयाँ विकल्प खुल्नेछ। यसले हुम्ला र मुगुबीचको यातायात तथा आर्थिक गतिविधिलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
