रास्वपा महाधिवेशनको तयारी पूरा


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन भोलि (असार ७ गते) आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ ।

तीन दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टीले जनाएको छ ।

महाधिवेशनको उद्घाटन सत्र आइतबार दिउँसो २ बजे भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा विशेष समारोहका बीच हुनेछ । उद्घाटन समारोहका लागि जर्मन प्रविधिमा आधारित अत्याधुनिक वाटरप्रुफ डोम निर्माण गरिएको छ ।

उद्घाटन सत्र सकिएपछि महाधिवेशनको बाँकी बन्दसत्र भने चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ ।

महाधिवेशनमा भाग लिन पार्टी सभापति रवि लामिछानेसहितका केन्द्रीय नेताहरू, प्रतिनिधि तथा पर्यवेक्षकहरू चितवन आइसकेका छन् ।

यस्तै, प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) साह आइतबार नै चितवन आउने कार्यक्रम रहेको छ । उद्घाटन सत्रलाई प्रधानमन्त्री साह र सभापति लामिछाने दुवैले विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

असार ९ गतेसम्म चल्ने यस महाधिवेशनले रास्वपाको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनमा केन्द्रीय समितिको आकार १३१ सदस्यीयबाट बढाएर १५१ वा १५८ सदस्यीय बनाउने गरी विधान संशोधनको प्रस्ताव समेत लैजाने तयारी गरिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनलाई मर्यादित बनाउन विशेष निर्वाचन आचारसंहिता, २०८३ जारी गर्दै आकांक्षीहरूलाई प्यानल बनाएर चुनाव लड्न निषेध गरेको छ । सम्भावित निर्वाचनका लागि ई–भोटिङ मेसिनको समेत व्यवस्था गरिएको भए पनि मुख्य पदहरूमा सर्वसम्मतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको रास्वपाले जनाएको छ ।

प्रकाशित मितिः     ६ असार २०८३, शनिबार २०:२८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *