६ दशकदेखि नसुकेको धारा सुक्न थालेपछि रामा गाउँमा खानेपानी संकट, १९० विद्यार्थीलाई ग्यालेनमा पानी बोकेर प्यास मेटाउनुपर्ने बाध्यता ।।


ताँजाकोट गाउँपालिका–३ को रामा गाउँमा खानेपानीको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । ५५ घरधुरी रहेको गाउँमा पानीको एक मात्र भरपर्दो स्रोतका रूपमा रहेको धारा नै सुक्न थालेपछि स्थानीयवासी र विद्यालय दुवै प्रभावित भएका छन ।

दशकौँदेखि गाउँलेले यही धाराको पानी प्रयोग गर्दै आएका थिए । तर पछिल्ला वर्षहरूमा धारामा पानीको मात्रा घट्दै जाँदा बिहानैदेखि पानीको पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । स्थानीय गोर्खबहादुर शाहीका अनुसार आफू ६० वर्षको हुँदासम्म यो धारा कहिल्यै नघटेको सम्झना छैन । तर अहिले पानी लिन बिहानै पानी थाप्ने भाँडा लाइनमा राखेर पालो कुर्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । यही धाराको पानीमा गाउँको दैनिक जीवन निर्भर रहेकाले स्थानीयवासी थप चिन्तित बनेका छन ।

खानेपानी संकटको प्रत्यक्ष असर गाउँमै रहेको रामदेव आधारभूत विद्यालयमा पनि परेको छ । विद्यालयमा अध्ययनरत १९० जना विद्यार्थीलाई पिउने पानी उपलब्ध गराउन कार्यालय सहयोगी नन्दादेवी शाहीले दैनिक ग्यालेनमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको बताउन भएको छ ।

विद्यालयले पहिले प्रयोग गर्दै आएको खानेपानीको मुहान पूर्ण रूपमा सुकेपछि अहिले गाउँकै धारामा निर्भर हुनुपरेको छ । विद्यालयबाट धारासम्म पुग्न २० देखि २५ मिनेट लाग्ने भएकाले पानी ल्याउनमै धेरै समय खर्चिनुपर्ने अवस्था छ । यसले विद्यार्थीको पठनपाठन र विद्यालयको दैनिक सञ्चालनमा समेत असर पुर्‍याएको विद्यालयको भनाइ छ ।

स्थानीयका अनुसार वर्षौंदेखि भरपर्दो मानिएको पानीको स्रोत नै सुक्न थालेपछि भविष्यमा समस्या अझ विकराल बन्ने चिन्ता बढेको छ । समयमै वैकल्पिक खानेपानीको व्यवस्था नगरिए गाउँका ५५ घरधुरी र विद्यालयका १९० विद्यार्थीले थप सास्ती बेहोर्नुपर्ने अवस्था आउने उनीहरूको भनाइ रहेको छ ।

स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल दीर्घकालीन खानेपानी आयोजना निर्माण गरी सुरक्षित र नियमित खानेपानीको व्यवस्था गर्न माग गरेका छन । उनीहरूको अपेक्षा छ—समयमै आवश्यक पहल भए मात्र गाउँले र विद्यार्थीले वर्षौंदेखिको यो खानेपानी संकटबाट राहत पाउने देखिएको छ ।

प्रकाशित मितिः     १८ असार २०८३, बिहीबार १९:४३  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *