हिमाली जिल्ला अबदेखि पूर्ण खोप दिगोपना सुनिश्चित जिल्लाबा रुपमा घोषित भएको छ ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजना तथा जिल्ला खोप समन्वय समितिको सहकार्यमा आइतबार हुम्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको हो । आवश्यक सूचकहरू पूरा भएको पुष्टि भएपछि हुम्ला जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा.उमाकान्त तिवारीले बताउनु भयो ।
उहाँका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको, लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गरेको तथा खोप सेवा निरन्तर सञ्चालन गर्न आवश्यक व्यवस्थापन, जनशक्ति र अनुगमन प्रणाली सुदृढ भएका आधारमा घोषणा गरिएको बताए ।
डा. तिवारीका अनुसार ० देखि १५ महिनासम्मका १ हजार ३७ जना र १६ महिनादेखि ५९ महिनाका २ हजार ३३४ गरि जम्मा ३ हजार ३ सय ७१ जना बालबालिकाहरु पुर्ण खोपबाट लाभान्वित भएका छन् । भौगोलिक रूपमा विकट जिल्ला भए पनि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय समुदायको सक्रिय सहभागिताका कारण पूर्ण खोप दिगोपना सुनिश्चित गर्न सफलता प्राप्त भएको बताउनु भयो ।
जिल्लामा नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउँदै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण सिर्जना गर्नका लागि सरोकारवाला निकायको थप भूमिका प्रभावकारी हुनु पर्ने खोप समन्वय समिति संयोजक शिवराज शर्माले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले भने, जिल्लाका प्रत्येक वडामा नियमित अनुगमन, अभिलेखीकरण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएर जिल्लालाई पुर्ण खोप जिल्ला घोषणा गर्न सफल भएको हो ।
कार्यक्रममा बोल्दै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले अब घोषणा मात्र नभई यस उपलब्धिलाई दीर्घकालसम्म कायम राख्नु सबै पक्षको साझा जिम्मेवारी रहेको धारणा राखे । कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय, सञ्चारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा हुम्लाको सार्वजनिक स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबैले हस्ताक्षर गरि प्रतिवद्धता जनाएका थिए । –––कालीबहादुर थापा
