हुम्ला जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोलानाथ गुरागाईंले आज जिल्ला प्रशासन कार्यालय हुम्लामा हाजिर भई औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा कार्यालयका कर्मचारीहरूले नवनियुक्त प्रमुख जिल्ला अधिकारी गुरागाईंलाई स्वागत गरेका थिए ।
हुम्ला भौगोलिक रूपमा विकट जिल्ला भएकाले यहाँका नागरिकले भोगिरहेका प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी चुनौतीलाई नजिकबाट अध्ययन गरी समाधानका लागि आवश्यक पहल गरिने अपेक्षा गरिएको छ । यसअघि कार्यरत प्रमुख जिल्ला अधिकारीको टेक कुमार रेग्मीको यही असार २० सरुवापछि गृह मन्त्रालयको निर्णयअनुसार भोलानाथ गुरागाईं हुम्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा खटिनुभएको हो ।
उहाँको आगमनसँगै जिल्लाको प्रशासनिक सेवा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा तथा सरकारी सेवाको प्रभावकारितामा थप सुधार हुने अपेक्षा गरिएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले नयाँ प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नागरिकलाई गुणस्तरीय, प्रभावकारी र उत्तरदायी सेवा प्रदान गर्न सबै कर्मचारी प्रतिबद्ध रहेको जनाएको छ ।
