सोरु गाउँपालिकाका गणेश नेपालीले भत्तपुरमा आत्मदाहको प्रयास


मुगुको सोरु गाउँपालिका वडा नं. ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।

प्रहरीका अनुसार उनी पेसाले पठाओ (राइड सेयरिङ) चालक रहेको र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि आवेशमा आएर उनले यस्तो कदम चालेको पाइएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो करिब पौने २ बजेको समयमा काठमाडौँ महानगरपालिका ११, त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिकै ती युवकले अप्रत्याशित रूपमा आफ्नो शरीरमा आगो लगाएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार उनले आफैँले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएका थिए । महानगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा राखेको भन्दै उनको मोटरसाइकलमा साँचो (ह्वील लक) लगाएपछि उनी आक्रोशित बनेका थिए । सोही विषयलाई लिएर विवाद र तनाव भएपछि उनले पेट्रोल खन्याएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा खटिएका प्रहरी टोलीले तत्कालै आगो निभाएर उनलाई उद्धार गरी उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल र्पुयाएको थियो । हाल उनको वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार नेपालीको अवस्था गम्भीर छ । उनको शरीरका विभिन्न भाग जलेका छन् भने उनी हाल हल्का बोल्न सक्ने अवस्थामा रहेका छन् । प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मितिः     २५ असार २०८३, बिहीबार १५:५७  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *