चुवाखोला–खार्पुनाथ पुल सञ्चालनपछि दोमुखमा वेलिब्रिज सार्न स्वीकृति ।


हुम्लाको चुवाखोला–खार्पुनाथ मोटरेबल पुल सञ्चालनमा आएपछि हाल प्रयोगमा रहेको वेलिब्रिज कर्णाली नदीस्थित दोमुखमा स्थानान्तरण गर्न सडक विभागले स्वीकृति दिएको छ ।

वेलिब्रिज जडानको सम्पूर्ण खर्च सोरु गाउँपालिकाले व्यहोर्ने गरी उक्त निर्णय गरिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको २०८३ साउन १४ गतेको सहमतिअनुसार सडक विभागले साउन २० गते टिप्पणी तथा आदेश जारी गर्दै चुवाखोला–खार्पुनाथ पुल सञ्चालनमा आएपछि वेलिब्रिज दोमुखमा लैजान स्वीकृति दिएको हो । आदेशमा वेलिब्रिज जडानको सम्पूर्ण खर्च सोरु गाउँपालिकाले व्यहोर्ने उल्लेख गरिएको छ । तर, सडक विभागको यो निर्णयप्रति हुम्लामा भने असन्तुष्टि देखिएको छ ।

जिल्लावासी तथा सरोकारवालाले हुम्लामा रहेका संरचना अन्य जिल्लामा लैजानु उचित नभएको भन्दै विरोध जनाउन थालेका छन् । उनीहरूले भविष्यमा जिल्लाभित्रै विपद् वा अन्य आवश्यकताका बेला वेलिब्रिजको आवश्यकता पर्न सक्ने भएकाले हतारमा अन्यत्र सार्ने निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेका छन ।

स्थानीयको भनाइमा हुम्ला भौगोलिक रूपमा विकट र बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला भएकाले आपत्कालीन अवस्थामा यस्ता संरचनाले ठूलो राहत दिन सक्छन् । त्यसैले वेलिब्रिज हुम्लामै आवश्यक स्थानमा प्रयोग गर्नुपर्ने उनीहरूको तर्क रहेको छ । यद्यपि, सडक विभागले मन्त्रालयको सहमतिअनुसार निर्णय गरिएको जनाएको छ भने सोरु गाउँपालिकाले वेलिब्रिज जडानको सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था गरिएको छ ।

अब उक्त निर्णय कार्यान्वयन हुने वा स्थानीयको विरोधपछि पुनर्विचार गरिने भन्ने विषय भने चासोको विषय बनेको छ । सो पुल गत बर्ष तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्न भएको थियो । तर अदानचुली गाउँपालिका लगायत जिल्लाको तल्लो क्षेत्रका गाउँपालिका र सोरु गाउँपालिका बिच सहज आवत जावत हुँने भयो भन्नेमा यहाँका नागरीक भने आशाबादी देखीएका छन् ।

प्रकाशित मितिः     २१ श्रावण २०८३, बिहीबार १८:५७  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *