सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, घण्टाघर लाइनस्थित खड्का होटलले असहाय तथा विपन्नका लागि संकलन गरेको रकम भोटेकोसी बाढीप्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । स्वर्गीय शिवराज खड्काको योजनाअनुसार करिब तीन वर्षअघि होटल परिसरमा राखिएको चन्दा बाकसमा संकलित ७ लाख १८ हजार ६ सय १८ रुपैयाँ फेला परेको हो ।
उक्त रकम प्रहरी, प्रशासन, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, स्थानीय व्यक्तित्व तथा खड्का परिवारको रोहवरमा चन्दा बाकस खोलेर गणना गरिएको थियो । चन्दा बाकसमा संकलित रकममा खड्का होटल परिवारले थप १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । यससँगै कुल ८ लाख ६९ हजार ६ सय १८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको हो ।
१० भदौमा धादिङ, नुवाकोट, रसुवा, गोरखा, चितवनलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको खड्का होटल परिवारले जनाएको छ ।
सामाजिक सेवाका लागि राखिएको चन्दा बाकसमा सर्वसाधारणले स्वेच्छाले गरेको सहयोग र होटल परिवारले थप गरेको रकम विपद्मा परेका नागरिकको सहयोगमा थोरै भए पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।
