लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध हुनुका साथै आसपासका बालीनालीमा समेत क्षति पुगेको छ ।
सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीका अनुसार थाहा खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बालीनाली नष्ट गरेको छ । उहाँका अनुसार बिहान करिब तीन घण्टा लगातार आएको वर्षा भएपछि माथिबाट लेदोसहितको बाढी आएको र बाढीले आसपासका क्षेत्र सहित थाहा ज्युलोमा बाढी पसेर बालीनाली पुर्णरुपमा नष्ट गरेको र त्यहाँ स्थीत कर्णाली करिडोरको सडक पुर्णरुपमा अवरुद्ध बनाएको बताउनु भयो ।
त्यसैगरी, सर्केगाड गाउँपालिकाको केन्द्र आसपास भएर बग्ने सर्केगाड खोलामा पानीको बहाव बढ्दा बजार क्षेत्र तथा आसपासमा समेत क्षति पुगेको छ । सर्केगाड बजारमा व्यवसाय गर्दै आएका अदानचुली गाउँपालिका–१ का लक्ष्मण फडेराका अनुसार खोलामा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा समस्या देखिएको बताउनु भयो ।
माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि कर्णाली करिडोरसमेत पूर्णरूपमा अवरुद्ध भएको सर्केगाड प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक जगदिसकुमार ऐरले बताउनुभयो । पहिरोले बालीनालीमा क्षति पुर्याउनुका साथै सडक अवरुद्ध भएकाले सडक खुलाउन गाउँपालिका र सम्बन्धित सडक निकायसँग समन्वय भइरहेको उहाँले बताउनु भयो ।
यता, लगातारको वर्षापछि कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–६ ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५ खार्पुसम्म विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ ।
कतिपय ठाउँमा पहिरोले सडक पूरै पुरिएको छ भने केही खण्डमा सडक साँघुरिएपछि जोखिम मोलेर सवारीसाधन सञ्चालन भइरहेका छन् । कार्यालयको कामका लागि सदरमुकाम सिमकोट आएका चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाहीका अनुसार ग्युसीदेखि खार्पुसम्म सडकका विभिन्न स्थानमा माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेको बताउनु भयो । सडक अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधनलाई आवतजावतमा समस्या भएको छ । पहिरोका कारण दक्षिणी हुम्लाबाट सदरमुकाम सिमकोटतर्फ आउने–जाने यात्रुहरु बढी प्रभावित भएका छन् ।
कर्णाली करिडोर हुम्लालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख स्थलमार्ग हो । वर्षायाममा पहिरोका कारण करिडोर पटक–पटक अवरुद्ध हुँदा यातायातसँगै जिल्लाको खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुँदै आएको छ ।–––कालीबहादुर थापा
