छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प, स्वास्थ्य शिविरमा जान हिँडेका २७ बढी यात्रु अलपत्र ।।


कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार दिउँसो माथिबाट पहिरोसँगै ठूला ढुंगा खसेपछि करिब एक सय मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो । पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् सडकमा ठूला–ठूला ढुंगा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ ।

असोज ४ गते जिल्ला सदरमुकाम सिमकोटमा सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले बताउनु भयो । उहाँका अनुसार आफु श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट सिमकोटतर्फ आएको थिए । तर, दिउँसो छारेभिरमा पहिरो खसेपछि आफुहरू बीच बाटोमै रोकिनु परेको बताउनु भयो । उहाँले भन्नु भयो “श्रीमतीको कानको उपचारका लागि बिहानै गाउँबाट हिँडेका थियौँ। दिउँसो पहिरो खसेपछि न अगाडि जान सकियो, न घर फर्किन,” बुढाले भने ।
उहाँहरु पहिरोका कारण आफूहरू सर्केगाडको खडीखेतमा बसेर सडक भोलिसम्म खुल्ने आशामा पर्खिरहेका छन् स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा रहेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई सडक खुलाउन पहल भइरहेको बताउनु भयो । उहाँका अनुसार सडकमा ठूला ढुंगा खसेकाले सामान्य जेसीभीबाट मात्रै सडक खुलाउन सम्भव छैन । सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको बताउनु भयो ।

“आजै एउटा जेसीभी पठाइएको भए पनि त्यसले मात्रै सडक खुलाउन सम्भव भएन । सडकमा ठूला ढुंगा रहेकाले ब्रेकरसहितको जेसीभी आवश्यक छ,” प्रमुख जिल्ला अधिकारी गुरागाईंले भने, “भोलि बिहानसम्म ब्रेकरसहितको जेसीभीको व्यवस्था गरेर काम सुरु गर्छौं।”

करिब एक सय मिटर सडक क्षेत्रमा ठूला ढुंगा थुप्रिएकाले ब्रेकर प्रयोग गरी फुटाउनुपर्ने अवस्था रहेकोे छ । दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने बताउनु भयो । उहाँका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भावतः पर्सि दिउसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको बताउनु भयो ।

वर्षायाममा बाढी, पहिरो र ढुंगा खस्ने समस्याका कारण कर्णाली करिडोर पटक–पटक अवरुद्ध हुँदै आएको छ । करिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     ४ आश्विन २०८३, आईतवार ०८:०४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *