नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर हुम्लामा पार्टीभित्रको समूहगत प्रतिस्पर्धा थप स्पष्ट देखिन थालेको छ ।पूर्वसभापति शेरबहादुर देउवा पक्षले हुम्लामा सूर्यबहादुर शाहीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ । देउवा पक्षले देशभर जिल्ला संयोजक तोक्ने क्रममा शाहीलाई हुम्लाको जिम्मेवारी दिएको हो ।
देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन तयारी समिति बनाएर छुट्टै अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ । सोही प्रक्रियाअन्तर्गत हुम्लामा पनि शाहीलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो । यसैगरी देउवा पक्षले कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी हुम्लाकै पूर्वसांसद रंगमती शाहीलाई दिएको छ । कर्णालीका जिल्लामा अधिवेशन सम्पन्न गराउने जिम्मेवारीसहित शाहीलाई प्रदेश संयोजक तोकिएको सार्वजनिक विवरणमा उल्लेख छ ।
हुम्लामा भने यसअघि एउटै समूहभित्र देखिँदै आएको समीकरण अहिले फेरिएको छ । विगतमा पुर्वमुख्यमन्त्री जीवनबहादुर शाही र रिता शाही समूहबीचको प्रतिस्पर्धाका रूपमा हेरिँदै आएको जिल्लाको कांग्रेस राजनीति अहिले जीवनबहादुर शाही र रंगमती शाही नेतृत्वका छुट्टाछुट्टै धारमा विभाजित भएको देखिएको छ ।
वर्तमान सभापति गगन थापा नेतृत्वको कांग्रेस पक्षले हुम्लामा वडा तथा गाउँ अधिवेशनलाई अघि बढाइरहेको छ । जिल्लाका ४४ वडा मध्ये ४२ वडाको अधिवेशन सम्पन्न गरी ५ गाउँ कार्यसमितिको अधिबेशन सम्पन्न गरीसकेको जिल्ला पाटी सभापति मोहन विक्रम सिंहले बताउनु भयो । उहाँका अनुसार नाम्खा गाउँपालिकाका सभापतिमा पेमा लामा, सिमकोट गाउँपालिकामा बलबिर शाही, खार्पुनाथमा बसन्त शाही, चंखेलीमा धनन्जय भण्डारी, ताँजाकोटमा रणबहादुर रिठाल निर्विरोध चयन भैसकेका छन् भने अदानचुली गाउँपालिका, सर्केगाड गाउँपालिकाको अहिले बन्द शत्र चलिरहेको छ भने खार्पुनाथकाद्द वडामा पनि छलफल भैरहेको बताउनु भयो ।
जिल्लामा पूर्वमुख्यमन्त्री तथा कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही, प्रतिनिधिसभा सदस्य जयपति रोकाया, जिल्ला सभापति मोहनविक्रम सिंहलगायतका नेताहरू गाउँ–गाउँ पुगेर अधिवेशन प्रक्रियामा सक्रिय रुपमा लागि रहेको बताउनु भयो । हुम्लामा जिल्ला तहको पूर्वतयारी बैठकसमेत सम्पन्न भइसकेको छ ।
उता देउवा पक्षले पनि आफ्नै कार्यतालिका अनुसार वडा तहदेखि अधिवेशन अघि बढाउने तयारी गरेको छ । देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र त्यसपछि पालिका, क्षेत्र तथा जिल्ला तहका अधिवेशन गर्दै जाने कार्यतालिका सार्वजनिक गरेको छ ।
यसले हुम्लामा १५औँ महाधिवेशनको तयारीसँगै कांग्रेसभित्रको पुरानो समूहगत समीकरणमा समेत परिवर्तन आएको छ । रिता शाही पक्षधर नेताहरू भने हालसम्म खुलरूपमा सक्रिय नदेखिएको जिल्लाका कांग्रेस नेताहरूको भनाइ छ । रिता शाहीलाई शेखर कोइराला पक्षसँग नजिक मानिँदै आएको भए पनि पछिल्लो समीकरणमा उनको समूहको औपचारिक धारणा भने सार्वजनिक रूपमा स्पष्ट भएको छैन ।
यसरी हुम्लामा एकातर्फ गगन थापा पक्षले वडा र गाउँ अधिवेशन मार्फत संगठनात्मक गतिविधि अघि बढाइरहेको छ भने अर्कोतर्फ देउवा पक्षले सूर्यबहादुर शाहीलाई जिल्ला र रंगमती शाहीलाई कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी दिएर आफ्नो संरचना निर्माण थालेको छ । कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा हुम्लाको समूहगत समीकरणलाई चासोका साथ हेरिएको छ ।–––कालीबहादुर थापा
