मछारीमा राति घरमाथि ढुंगा खस्यो, जेसीभी चालक गम्भीर घाइते ।। थप उपचारको लागि हेलीकप्टर मार्फत सुर्खेत लगियो ।।


हुम्लाको अदानचुली गाउँपालिका–४ मछारीमा राति माथिबाट खसेको ढुंगा घरको छतमा बज्रिँदा जेसीभी चालकसहित तीन जना घाइते भएका छन् । घटनामा दैलेखको दुल्लु घर भएका जेसीभी चालक बखत खड्का गम्भीर घाइते भएका छन् ।

आज राति करिब ३ बजेको समयमा रिल्म हुँदै विगाठीसम्मको सडक निर्माणका लागि काम गरिरहेका उनीहरू मछारी पुलपारिको एक घरमा सुतेका थिए । अचानक माथिबाट खसेको ठूलो ढुंगा घरको छतमा खसेपछि घरभित्र सुतेका खड्कासहित रुकुम पश्चिमका रोसन राना र हुम्ला सिमकोटका रमेश शाही घाइते भएका हुन् ।

घाइतेमध्ये राना र शाहीको अवस्था सामान्य रहेको छ भने जेसीभी चालक खड्काको टाउकोमा गम्भीर चोट लागेको अदानचुली ४ लौठी घर भएका स्थानीय दिनेश पाण्डेले बताउनुभयो ।

घटना भएको जानकारी पाएलगत्तै लौठी गाउँबाट स्थानीय घटनास्थलमा पुगेका थिए । उनीहरूले घाइतेलाई स्टेचरमा राखेर तत्कालै श्रीनगर स्वास्थ्य चौकी र्पुयाएका थिए । अहिले तीनै जनाको श्रीनगर स्वास्थ्य चौकीमा प्राथामिक उपचार भइरहेको भएपनि चालक खड्काको अवस्था निकै गम्भिर देखिएकाले अहिले तिनैजनालाइ हेलीकप्टर मार्फत सुर्खेत लगिएको अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले बताउनु भयो । श्रीनगर स्वास्थ्य चौकीले यहाँ उपचार गर्न सम्भव नभएको भन्दै रिफर गरेपछि ठेकदार कम्पनीलाई जानकारी गराई उनिहरुकै पहलमा हेलीकप्टर मार्फत थप उपचारको लागि लिन लागिएको बताउनु भयो । उक्त सडक निर्माणको ठेक्का हुम्लाकै कङ्ग्री निर्माण सेवाका छिरिङ लामाको रहेको छ ।

सडक निर्माणका क्रममा कामदारहरू बसेको घरमै माथिबाट ढुंगा खसेपछि रातको समयमा भएको घटनाले स्थानीयमा त्राससमेत बढाएको छ । –––कालीबहादुर थापा

प्रकाशित मितिः     ११ आश्विन २०८३, आईतवार १३:४२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *