हुम्लामा कर्णाली करिडोरमा यातायात सञ्चालन, हिल्सा खण्ड अझै अवरुद्ध ।।


अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा सडक भत्किएर अवरुद्ध भएको कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालनमा आएको छ । हिल्सा–सिमकोट सडक आयोजनाले निरन्तर सडक खुलाउने काम गरेपछि आज दिउँसो २ बजेदेखि साना सवारीसाधन सञ्चालनमा आएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनु भयो । उहाँका अनुसार वर्षाका कारण सडक अवरुद्ध भएपछि बीच बाटोमै रोकिएका यात्रु तथा सवारीसाधनलाई सहज हुने गरी सडक खुलाइएको हो । सडक अवरुद्धका कारण प्रतिनिधिसभा सदस्य जयपति रोकाया समेत बीच बाटोमै रोकिएको उहाँले बताउनुभयो ।

सडकमा क्षति पुगेका स्थानमा निरन्तर काम गरेर साना सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनाइएको र केही समयपछि ठूला सवारीसाधनसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख नेपालीले बताउनु भयो ।

अब सुर्खेत–नेपालगञ्ज हुँदै हुम्ला आउने सवारीसाधन जिल्ला सदरमुकाम सिमकोटसम्म पुग्न सक्ने भएका छन् । तर सिमकोटदेखि चीनको सीमावर्ती क्षेत्र हिल्सासम्मको सडक भने अझैद सञ्चालनमा आउन सकेको छैन । उक्त खण्डमा समेत सडक खुलाउने काम जारी रहेकाले यातायात सञ्चालनमा ल्याउन केही समय लाग्ने बताउनु भयो ।

अविरल वर्षापछि आएको बाढी तथा पहिरोले कर्णाली करिडोरसहित जिल्लाका विभिन्न ग्रामीण सडकमा समेत क्षति र्पुयाएको छ । ग्रामीण सडक सञ्चालनमा ल्याउन स्थानीय सरकारहरू पनि आवश्यक जनशक्ति तथा मेसिन परिचालन गरी काम गरिरहेको बताएका छन् ।

यसअघि हिजोमात्रै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वर्षाका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । सोहीअनुसार मुख्य सडक तथा ग्रामीण सडक खुलाउने कामलाई तीव्रता दिइएको बताइएको छ ।

कर्णाली करिडोर सञ्चालनमा आएसँगै बाहिरी जिल्लाबाट हुम्ला आउने खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा अन्य सामान ढुवानीमा सहज हुने भएको छ । यद्यपि सिमकोट–हिल्सा खण्ड र केही ग्रामीण सडक पूर्णरूपमा सञ्चालनमा नआएसम्म जिल्लाको सबै क्षेत्रमा यातायात सहज हुन अझै समय लाग्ने देखिएको छ ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     १६ आश्विन २०८३, शुक्रबार १८:३०  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *