हिमपातले हिल्सा नाका थुनिँदा ४१ नेपाली अलपत्र, कैलाश मानसरोवर यात्रा पनि प्रभावित ।।


हुम्लाको उत्तरी सीमा नाका हिल्सामा अविरल वर्षासँगै भएको भारी हिमपातका कारण ४१ जना नेपाली नागरिक अलपत्र परेका छन् । गत शुक्रबारदेखि निरन्तर परेको वर्षा र हिमपातका कारण हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको हिल्सामा कार्यरत अध्यागमन अधिकृत विमल पौडेलले बताउनु भयो ।

उहाँका अनुसार अलपत्र पर्नेहरू नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक हुन् । उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन् । घरबाट ताक्लाकोट फर्किने क्रममा शुक्रबार हिल्सा पुगेका उनीहरू सोही रात हिमपात सुरु भएपछि हिल्सामै रोकिएका बताउनु भयो ।

अधिकृत पौडेलका अनुसार उनीहरूमध्ये अधिकांस कैलाश मानसरोवर दर्शनका लागि आएका पर्यटक नभई ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका नेपाली नागरिक हुन् । हिमपातका कारण सीमा क्षेत्रमा आवतजावत रोकिएपछि उनीहरू हिल्सामै बस्न बाध्य भएका हुन् ।

यता, हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षले समेत आवतजावत बन्द गरेको छ । हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार अक्टोबर ४ अर्थात असोज १८ गतेदेखि नाका खुल्ने चर्चा भए पनि मौसमको अवस्था हेर्दा यस वर्षका लागि नै यात्रा बन्द हुनसक्ने अवस्था देखिएको बताउनु भयो । उहाँका अनुसार यस्तो चिसोमा कोरा लगायन समेत नसकिने भएको छ सायद यस वर्षको लागि खुल्न नसक्ने बताउनु भयो ।

ताक्लाकोट प्रवेशका लागि हिल्सा पुगेका नेपालीहरू चिनियाँ पक्षको सुरक्षा प्रणालीमा समस्या आएको र अत्यधिक चिसो तथा हिमपातका कारण आवतजावत रोकिएपछि हिल्सामै रोकिएका हुन् । हिमपातका कारण हिल्सामा खानेपानी र बत्तीकोे समस्या भएको बताउनु भयो ।

हिल्सा पुग्ने बाटो खुलाउन चुनौती
चीनतर्फको सडक खुलाउने काम भइरहेको भए पनि नेपालतर्फ हिल्सा पुग्ने सडक खुलाउन भने अझै समय लाग्ने देखिएको छ । सशस्त्र प्रहरीका नायब उपरीक्षक नन्दबहादुर शाउदका अनुसार हिल्सामा करिब दुईदेखि अढाइ फिटसम्म हिउँ जमेको छ ।

हिल्सा पुग्न करिब ४ हजार ६ सय मिटरभन्दा बढी उचाइमा रहेको नारा लेख पार गर्नुपर्ने भएकाले त्यहाँ जमेको हिउँ पन्छाउन थप समय लाग्ने उहाँले बताउनुभयो । हिल्सामा एउटा मात्रै स्काभेटर रहेकाले सडक खुलाउने काममा कठिनाइ भएको र इन्धनको समेत समस्या रहेको उहाँको भनाइ छ । यद्यपि स्थानीयवासी र सुरक्षाकर्मीले हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भने निरन्तर गरिरहेको बताउनु भयो ।

६ हजार १० जनाले गरे कैलाश मानसरोवर दर्शन
यस वर्ष हालसम्म हिल्सा नाका हुँदै ६ हजार १० जना पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन् । अध्यागमन अधिकृत विमल पौडेलका अनुसार कैलाश मानसरोवर जाने पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतीय नागरिकको रहेको छ । त्यसपछि बेलायत, अमेरिका र नेपाली नागरिक लगायत पर्यटक रहेका छन् ।

यसअघि पनि एक समूह हिमपातका कारण हिल्सा नाकाबाटै कैलाश मानसरवर दर्शनको लागि गएको तर उक्त टोलीलाई हिमपातका कारण यस नाकाबाट फर्किन असम्भाव भएपछि उक्त समूह ल्हासा हुँदै फर्किसकेको बताउनु भयो ।

यस वर्ष कैलाश मानसरोवर दर्शनको मुख्य सिजन सकिनै लाग्दा भएको भारी हिमपातले हिल्सा नाकामा आवतजावतसँगै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवनसमेत प्रभावित भएको छ । –––कालीबहादुर थापा

प्रकाशित मितिः     १६ आश्विन २०८३, शुक्रबार ०८:०९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *