हुम्लाको चंखेली गाउँपालिका–६ मेल्छामका लालबहादुर सिरा घरको छतबाट लडेर गम्भीर घाइते भएका छन् ।
मंगलबार साँझ घरको छतमा सिमी लिन जाने क्रममा अचानक लडेर सिरा घाइते भएका हुन् । छतबाट लडेका सिराको टाउकोमा गम्भीर चोट लागेको चंखेली गाउँपालिका आयुर्वेद शाखा प्रमुख गोरख महताराले बताउनु भयो ।
घाइते सिरालाई तत्काल मेल्छाम स्वास्थ्य चौकीमा पुर्याई सामान्य उपचार गरिएको थियो । स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने भएपछि उहाँलाई अहिले ( बुधबार बिहान) स्ट्रेचरमा बोकेर सलिसल्लासम्म ल्याइएको छ ।
लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा सवारीसाधन सञ्चालनमा आउन नसकेपछि घाइते सिरालाई स्वास्थ्य संस्थासम्म पुर्याउन स्थानीयले स्ट्रेचरमा बोकेर ल्याउनुपरेको बताउनु भयो । थप उपचारका लागि सिरालाई अब सडक खुलेपछि सवारीसाधनमार्फत जिल्ला बाहिर लैजाने तयारी गरिएको छ ।
