चाडपर्वमा सिमकोट बजार अनुगमन ः २६ पसलमा निरीक्षण, ६ हजार ८ सयभन्दा बढीका म्याद गुज्रिएका वस्तु नष्ट


चाडपर्वलाई लक्षित गर्दै हुम्लाको सदरमुकाम सिमकोट बजारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यवस्तु फेला परेका छन् । सिमकोट गाउँपालिकाले दुई दिनसम्म सञ्चालन गरेको बजार अनुगमनका क्रममा २६ वटा खाद्यवस्तु तथा मासुजन्य पसलको निरीक्षण गरिएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरबहादुर बुढाले बताउनु भयो ।

उहाँका अनुसार अनुगमनको पहिलो दिन खाद्यवस्तु बिक्री गर्ने १३ वटा पसलमा निरीक्षण गर्दा जुस, मसला, पिठो लगायत सामग्री म्याद गुज्रिएको अवस्थामा भेटिएका थिए । ती सामग्रीको कुल मूल्य ६ हजार ८ सय ६५ रुपैयाँ बराबर रहेको बताउनु भयो । म्याद गुज्रिएका सामग्रीलाई अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिएरसोही दिन नष्ट गरेको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताउनुभयो ।

चाडपर्वका समयमा खाद्यवस्तुको खपत र कारोबार बढ्ने भएकाले बजारमा बिक्री हुने सामग्रीको गुणस्तर, म्याद, मूल्य, सरसफाइ तथा मासुजन्य पदार्थको सुरक्षित भण्डारणको अवस्थालाई मुख्य प्राथमिकतामा राखेर अनुगमन गरिएको बताउनु भयो ।

अनुगमनका क्रममा व्यवसायीलाई उपभोक्ताको स्वास्थ्य र अधिकारलाई प्राथमिकतामा राखेर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको थियो । विशेषगरी खाद्यवस्तुको म्याद नियमित जाँच गर्न, स्पष्ट रूपमा मूल्यसूची राख्न, पसल तथा बिक्रीस्थल सफा राख्न र मासुजन्य वस्तुको सुरक्षित तथा स्वच्छ भण्डारणमा ध्यान दिन सुझाव दिइएको छ ।

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरबहादुर बुढाको नेतृत्वमा गरिएको अनुगमनले चाडपर्वका बेला बजारमा म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न खोजिएको छ । उपभोक्तालाई स्वच्छ, गुणस्तरीय र सुरक्षित खाद्यवस्तु उपलब्ध गराउनुका साथै व्यवसायीलाई जिम्मेवार र उपभोक्तामैत्री बनाउन अनुगमन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सिमकोट गाउँपालिकाको आयोजनामा, जिल्ला प्रशासन कार्यालय हुम्ला तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको समन्वयमा बजार अनुगमन गरिएको हो । अनुगमन टोलीमा उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     २२ आश्विन २०८३, बिहीबार १९:२०  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *