हुम्लाको उत्तरी सीमा नाका हिल्सा जोड्ने सडक खुलाउन नारा लेकमा जमेको बाक्लो हिउँ पन्छाउन थालिएको छ । कर्णाली करिडोर अन्तर्गत सिमकोट–हिल्सा सडकखण्डको यारी–नारा लेक हुँदै हिल्सासम्मको सडकमा करिब तीन फिटदेखि चार मिटरसम्म हिउँ जमेको भएपछि जेसीबी परिचालन गरी सडक खुलाउने काम सुरु गरिएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनु भयो ।
उहाँका अनुसार नाम्खा गाउँपालिका–५ स्थित समुद्री सतहदेखि चार हजार ६ सय ७० मिटर उचाइमा रहेको नारा लेकमा बुधबार बिहानदेखि हिउँ पन्छाउन थालिएको र वर्षा नभएको खण्डमा निरन्तर गर्न पाए अबको ढिलोमा ३ दिनमा हिल्सा पुग्ने बताउनुभयो ।
सडक योजनाका प्रमुख नेपाली स्वयं हिउँ पन्छाउने स्थलमा पुगेर कामको अनुगमन गरी फर्किएको र नारा लेक क्षेत्रमा सडकमा करिब तीन फिटसम्म हिउँ जमेको छ भने हिल्सातर्फको ओरालो र खाल्डो परेको भागमा करिब चार मिटरसम्म हिउँ थुप्रिएको बताउनु भयो । बाक्लो हिउँका कारण उक्त क्षेत्रमा सडक खुलाउन केही समय लाग्ने भए पनि निरन्तर काम गरेर दुईदेखि तीन दिनभित्र सडक सञ्चालन योग्य बनाउने लक्ष्य रहेको प्रमुख नेपालीले बताउनुभयो ।
हिउँ पन्छाउन प्रयोग गरिएको जेसीबीका लागि आवश्यक थप इन्धनसमेत सिमकोटबाट नारा लेकतर्फ पठाइएको छ । सडक विभागकै जेसीभि मार्फत बिहानदेखि साँझ साढे ५ बजेसम्म नियमित रूपमा हिउँ पन्छाउने सडक योजनाले जनाएको छ ।
करिब १० किलोमिटर सडकखण्ड हिउँले ढाकिएपछि असोज १० गतेदेखि हिल्सा जाने यातायात सेवा अवरुद्ध हुँदै आएको छ । यसले हिल्सामा रहेका सरकारी कर्मचारी, सुरक्षाकर्मी, होटल व्यवसायी तथा स्थानीय व्यापारीसँगै ताक्लाकोटबाट दसैँ–तिहारका लागि घर फर्किन खोजिरहेका हुम्लावासीलाई समेत समस्या भएको छ ।
सडक खुलेसँगै हिल्सामा रोकिएका मानिसलाई आवतजावत गर्न सहज हुने भएको छ । हाल हिल्सामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यारी नाका भन्सार कार्यालय र अध्यागमन कार्यालयका कर्मचारीसँगै होटल व्यवसायी तथा केही स्थानीय व्यापारी बस्दै आएका छन् ।
नारा लेकमा हिउँ पन्छाउने काम सुरु भए पनि हिल्सा जोड्ने अर्को महत्वपूर्ण खण्ड न्यालु लेकमा भने अहिलेसम्म हिउँ पन्छाउने काम सुरु भएको छैन । न्यालु लेकको अवस्था र त्यहाँ जमेको हिउँ पन्छाउने काम सुरु भएपछि मात्रै सिमकोट–हिल्सा सडक पूर्ण रूपमा सञ्चालनमा आउने अवस्था रहनेछ ।
दसैँ–तिहार नजिकिँदै गर्दा सडक खुलाउने प्रयास तीव्र पारिएपछि ताक्लाकोटमा व्यापार व्यवसाय गरिरहेका हुम्लाका स्थानीयवासीलाई समेत घर फर्किन सहज हुने अपेक्षा गरिएको छ ।–––कालीबहादुर थापा
