यारी भन्सार कार्यालयमा समस्या अनेक, तर राजस्व संकलनमा लक्ष्यभन्दा तीन गुणा बढी उपलब्धि ।


चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सामा रहेको यारी भन्सार कार्यालयले विभिन्न चुनौतीका बीच गत आर्थिक वर्षमा निर्धारित लक्ष्यभन्दा तीन गुणाभन्दा बढी राजस्व संकलन गरेको छ । तर, भन्सार कार्यालयमा कर्मचारी अभाव, इन्टरनेट तथा सञ्चारको समस्या, सडक र मौसमको प्रतिकूलता तथा क्वारेन्टाइन व्यवस्थापन नहुँदा भन्सार सेवा र व्यापारिक गतिविधि सञ्चालनमा अनेक कठिनाइ रहेको छ ।

यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार आर्थिक वर्ष २०८२।०८३ मा ६ लाख २ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १९ लाख ६ हजार रुपैयाँ संकलन भएको र यो निर्धारित लक्ष्यको तुलनामा तीन गुणाभन्दा बढी उपलब्धि रहेको बताउनु भयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८३।०८४ मा भने ६ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ तर साउन महिनादेखि हालसम्म २ लाख रुपैयाँ राजस्व संकलन भइसकेको भन्सार प्रमुख जैसीले बताउनुभयो ।

उहाँका अनुसार यारी भन्सार कार्यालयका लागि मुख्य रूपमा भन्सार महसुल र मूल्य अभिवृद्धि कर (भ्याट) को मात्रै लक्ष्य निर्धारण हुने गरेको छ । यस नाकाबाट आयात हुने वस्तुको प्रकृतिअनुसार कहिलेकाही अन्तःशुल्कसमेत संकलन हुने गरेको छ । विशेषगरी सिमेन्ट, छड तथा अन्य विलासिताका सामग्री आयात हुँदा अन्तःशुल्क उठ्ने गरेको उहाँले बताउनुभयो । भन्सार कार्यालयमा सबैभन्दा बढी भन्सार महसुल, त्यसपछि मूल्य अभिवृद्धि कर र आंशिक रूपमा अन्तःशुल्क संकलन हुने गरेको उहाँको भनाइ छ ।

राजस्व संकलनको सम्भावना हुँदाहुँदै पनि भन्सार कार्यालयले विभिन्न प्राविधिक तथा प्रशासनिक समस्या झेलिरहेको बताउनु भयो । भन्सारसम्बन्धी अनलाइन प्रणाली सञ्चालन गर्न आवश्यक इन्टरनेट सेवा प्रभावकारी नहुँदा दैनिक कामकाजमै समस्या हुने गरेको प्रमुख जैसीले बताउनुभयो । हिल्सामा नेपाली नेटवर्कको पहुँच कमजोर भएकाले चिनियाँ सिमकार्ड प्रयोग गरी इन्टरनेट चलाएर काम गरीरहेको बताउनु भयो । तर, त्यसरी चलाइएको इन्टरनेटबाट आवश्यक सरकारी वेबसाइट तथा भन्सारसम्बन्धी प्रणाली सहज रूपमा नखुल्ने समस्या रहेको उहाँको भनाइ छ ।

त्यस्तै, भौगालिक कठिनाइका कारण कार्यालयमा कर्मचारीको चरम अभाव रहेको छ । यस कार्यालयमा दुई जना स्थायी सहित ५ जनाको दरबन्दी भए पनि हाल उक्त कार्यालयमा चार जना रहेकोमा एक जना स्थायी र तिन जना करारमा काम गरीएका छन् । सीमावर्ती नाकामा भन्सारसम्बन्धी कामको प्रकृति र जिम्मेवारीको तुलनामा जनशक्ति न्यून हुँदा सेवा प्रवाहमा समेत कठिनाइ हुने गरेको छ ।

हिल्सा नाकाको अर्को चुनौती भौगोलिक विकटता र प्रतिकूल मौसम हो । सडकको असहज अवस्था, बारम्बार हुने हिमपात र वर्षाका कारण आवतजावत तथा व्यापारिक गतिविधि प्रभावित हुने गरेका छन् यसले नाकाबाट हुने आयात–निर्यात र राजस्व संकलनमा समेत असर पार्ने गरेको भन्सार प्रमुख जैसीले बताउनुभयो ।

त्यसैगरी, भन्सार प्रक्रिया र करसम्बन्धी जानकारी तथा चेतनाको कमीले पनि राजस्व संकलन र भन्सार सेवा व्यवस्थापनमा चुनौती थपेको छ । हिल्सा नाकामा आवश्यक क्वारेन्टाइनको व्यवस्था नहुँदा विशेषगरी कृषि तथा पशुजन्य वस्तुको निर्यातमा समस्या हुने गरेको छ । आवश्यक पूर्वाधार र प्राविधिक व्यवस्थापन नहुँदा नाकाबाट सम्भावित व्यापारिक गतिविधिलाई विस्तार गर्न कठिनाइ भइरहेको उहाँको भनाइ छ ।

चीनसँगको व्यापारिक सम्बन्ध र सीमावर्ती व्यापारका दृष्टिले महत्त्वपूर्ण मानिने हिल्सा नाकामा भन्सार पूर्वाधार, दक्ष जनशक्ति, भरपर्दो सञ्चार तथा इन्टरनेट सेवा र क्वारेन्टाइन व्यवस्थापन गर्न सके व्यापारिक गतिविधि विस्तारसँगै राजस्व संकलनमा समेत वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     १७ कार्तिक २०८३, सोमबार १८:४५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *