वर्षा होस् वा घाम, जुनसुकै बेला पहिरो खसीरहने भएकाले हुम्लाबाट सुर्खेत पुग्न तीन दिनको कठिन यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सडकको दयनीय अवस्थाका कारण यात्रुहरुले निरन्तर सास्ती भोग्नुपरेको छ । कर्णाली करिडोरको यो वास्तविकताले सडक निर्माण, स्तरोन्नति र व्यवस्थापनमा सरकारको भूमिकामाथि फेरि प्रश्न उठाएको छ ।
सर्केगाड गाउँपालिका–१ जैरका नवराज रावतले हुम्लाबाट सुर्खेतसम्मको तीनदिने जोखिमपूर्ण यात्रा पार गरेपछि कर्णाली करिडोरको अवस्थाप्रति आक्रोश व्यक्त गर्नुभयो । नेपालगन्जको जमुनाहादेखि चीनको सीमावर्ती हिल्सासम्म जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको कर्णाली करिडोर वर्षौदेखि यात्रुका लागि सास्तीको माध्यम बनिरहेको उहाँको गुनासो छ ।
रावतका अनुसार विकास र समृद्धिका ठूला नारा लगाइए पनि कर्णालीवासीले भने सुरक्षित सडकमा यात्रा गर्न पाएका छैनन् । सडक निर्माण तथा स्तरोन्नतिका लागि वर्षौदेखि बजेट खर्च हुँदै आए पनि नागरिकले सहज यात्राको अनुभूति गर्न नसकेको भन्दै उहाँले संघीय सरकार र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सडकका जोखिमपूर्ण स्थानमा बनाइएका काठे तटबन्धलगायत संरचनाको गुणस्तरमाथि समेत प्रश्न उठाउँदै रावतले बजेट खर्चको प्रभावकारिता र निर्माण कार्यको अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
उहाँले कर्णाली प्रदेश सरकारका मन्त्रीहरूलाई एकपटक आफूसँगै यही सडकबाट यात्रा गर्न आग्रहसमेत गर्नुभयो । जनताले दैनिक भोग्नुपरेको कठिनाइ प्रत्यक्ष अनुभूति गरेपछि मात्रै सडकको वास्तविक अवस्था बुझ्न सकिने बताउनु भयो । यस्तै सर्केगाड गाउँपालिका १ को खच्चा क्षेत्रमै होटल व्यबषाय गरीरहेका डिलबहादुर कार्कीका अनुसार आफुले यहाँ व्यवषय गरीरहेको निकै वर्ष भयो हरेक वर्ष फरक ठाउँमा अस्थायी टहरा बनाउनु पर्ने बाध्यता रहेको बताउनु भयो । हरेक वर्ष यहाँको जग्गा काट्दै गएकाले यहाँ सास्ती नखेपेको कुनैपनि यात्रु नभएको बताउनु भयो ।
कवाडी–सलिसल्ला सडकखण्ड झन् चुनौतीपूर्ण
यता नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य नवराज महताराले पनि कर्णाली करिडोरअन्तर्गत कवाडी–सलिसल्ला सडकखण्डको अवस्थालाई गम्भीर चुनौतीका रूपमा औँल्याउनु भयो ।
महताराका अनुसार यस सडकखण्डमा वर्षायाममा मात्रै नभई सुख्खा मौसममा समेत पहिरो जाने समस्या छ । सडकको जोखिम कम गर्ने दीर्घकालीन विकल्प नखोजिए हुम्लावासीसँगै कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका लागि पनि यो सडक सधैँको समस्याका रूपमा रहने बताउनु भयो ।
सडकको जोखिमपूर्ण अवस्थाले यात्रु तथा मालसामान ढुवानीमा समस्या सिर्जना गर्नुका साथै आपत्कालीन अवस्थामा आवतजावत गर्नसमेत कठिन बनाउने गरेको छ । यस्तो अवस्थामा जोखिमयुक्त स्थानको पहिचान, वैकल्पिक मार्गको सम्भाव्यता अध्ययन र दीर्घकालीन सडक व्यवस्थापन आवश्यक देखिएको छ ।
विकासको नाराभन्दा सुरक्षित सडकको अपेक्षा
कर्णाली करिडोर हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण मार्ग हो । यस सडकले स्थानीय नागरिकको आवतजावत, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, स्वास्थ्य उपचार र पर्यटनसँग प्रत्यक्ष सम्बन्ध राख्छ तर सडकको जोखिमपूर्ण अवस्थाका कारण नागरिकले सहज र सुरक्षित यात्राको प्रत्याभूति पाउन सकेका छैनन् ।
प्राकृतिक विपत्तिका कारण पहिरो तथा सडक अवरुद्ध हुने समस्या देखिए पनि जोखिम न्यूनीकरण, नियमित मर्मत सम्भार र निर्माण भएका संरचनाको गुणस्तर सुनिश्चित गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो ।
कर्णालीवासीको अपेक्षा विकासका आश्वासन र भाषणमा मात्रै सीमित छैन । उनीहरू सुरक्षित सडक र भरपर्दे यातायात सुविधा चाहन्छन् । सर्केगाडदेखि सुर्खेतसम्मको तीनदिने कठिन यात्राले उठाएको प्रश्न यही हो—कर्णाली करिडोरको जोखिम न्यूनीकरण र स्तरोन्नतिका लागि सरकारले प्रभावकारी कदम कहिले चाल्छ ? भन्ने हुम्ली नागरीकको प्रश्न रहेको छ ।–––कालीबहादुर थापा
