दुर्गम गाउँ मास्पुरमा पहिलोपटक इन्टरनेट जडान, गाउँले खुसी ।।


भौगोलिक विकटताका कारण लामो समयदेखि सञ्चार तथा इन्टरनेट सेवाबाट वञ्चित हुम्लाको ताँजाकोट गाउँपालिका–३ स्थित मास्पुर गाउँमा पहिलो पटक इन्टरनेट जडान गरिएको छ । नेपाल ट्रस्ट र सिप नेपालको आर्थिक सहयोगमा मास्पुर स्वास्थ्य चौकीमा इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ ।

गाउँमा हालसम्म इन्टरनेटको पहुँच नहुँदा स्थानीयवासी सूचना तथा सञ्चार सेवाबाट टाढा रहँदै आएका थिए । नेपाल ट्रस्ट र सिप नेपालको सहयोगमा एक वर्षको रिचार्जसहित इन्टरनेट जडानका लागि १ लाख १ हजार १ सय १५ रुपैयाँ खर्च गरी इन्टरनेट जडान गरीदिएकोे सिप नेपाल हुम्लाका संयोजक कालीबहादुर भण्डारीले बताउनु भयो ।

गाउँपालिका केन्द्र छप्रेलाबाट मास्पुर पुग्न पैदल १२ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । बीच बाटोको मैतार्ना भन्ने ठाउँ सम्म सडक पुगे पनि त्यसभन्दा अगाडि रिजर्भ सवारीसाधनबाहेक अन्य विकल्प छैन । इन्टरनेट सेवा सुरु भएपछि सामान्य तथा अत्यावश्यक कामका लागि समेत गाउँपालिका धाउनुपर्ने बाध्यता कम हुने स्वास्थ्य चौकी इन्चार्ज पदम बुढाले बताउनुभयो ।

इन्टरनेट जडान भएसँगै गाउँका नागरिक स्वास्थ्य चौकीमा पुगेर फेसबुक, युट्युब लगायत सामाजिक सञ्जाल मार्फत देशविदेशका खबर थाहा पाउन तथा बाहिर रहेका आफन्तसँग भिडियो कलमार्फत कुराकानी गर्न थालेका छन् । लामो समयपछि गाउँमै इन्टरनेट सुविधा पुगेपछि स्थानीयवासी निकै खुसी भएको स्थानीय राजबहादुर बुढाले बताउनुभयो ।

१६ घरधुरी रहेको मास्पुर गाउँका बासिन्दालाई वडा कार्यालय तथा गाउँपालिका केन्द्रसम्म पुग्न पूरै एक दिन पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । यस्तो भौगोलिक कठिनाइका बीच स्वास्थ्य चौकीमा इन्टरनेट जडान भएपछि स्थानीयलाई सूचना तथा सञ्चारसँग जोडिन सहज हुनुका साथै स्वास्थ्य सेवा सम्बन्धी कामसँगै स्वास्थ्य संस्थाबाट गर्नुपर्ने रिर्पोटिङमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः     १२ मंसिर २०८३, शुक्रबार १९:०८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *