हुम्लामा नेपाली कम्युनिष्ट पार्टीले संगठन सुदृढीकरण र विस्तारलाई तीव्रता दिने भएको छ। पार्टीको जिल्ला सचिवालयको पहिलो बैठकले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेदेखि आगामी निर्वाचनको तयारी र संगठनात्मक अधिवेशनसम्मका कार्यक्रम तय गरेको छ।
जिल्ला संयोजक डा. दीपेन्द्र रोकायाको अध्यक्षतामा मंसिर ९ र १० गते सिमकोटमा बसेको बैठकका निर्णय शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। जिल्ला इन्चार्ज हस्तबहादुर शाहीको प्रमुख आतिथ्यतामा आयोजित पत्रकार सम्मेलनमा संयोजक रोकायाले बैठकका निर्णयबारे जानकारी गराउनुभएको थियो।
बैठकले मंसिर १४ गते पालिकास्तरीय र १६ गते वडास्तरीय राष्ट्रिय जागरण भेला गर्ने निर्णय गरेको छ। जिल्लाका सातवटै पालिकामा अभियान सञ्चालन गर्न कमान्डर तोक्ने र स्थानीय आवश्यकताअनुसार कार्ययोजना निर्माण गर्ने जनाइएको छ।
त्यस्तै, संगठन विस्तारलाई तीव्रता दिन मंसिर २७ गते जिल्लाका सबै वडामा वडा अधिवेशन र पुस ३ गते सबै पालिकामा पालिका अधिवेशन एकैसाथ गर्ने कार्यतालिका तय गरिएको छ। अभियानकै क्रममा पार्टी सदस्यता नवीकरण, प्रमाणीकरण तथा नयाँ सदस्यता विस्तारलाई समेत अघि बढाइने भएको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत विश्लेषण, उम्मेदवार छनोटका आधार र निर्वाचन परिचालनको प्रारम्भिक रणनीति तयार गर्ने निर्णय पनि बैठकले गरेको छ। महिला, दलित, शिक्षक, किसान, विद्यार्थी तथा प्रेस सेन्टरलगायत जनवर्गीय संगठनको समायोजन र विभिन्न मोर्चा तथा विभाग गठन तथा पुनर्गठनलाई समेत प्राथमिकतामा राखिएको छ।
बैठकले वर्तमान सरकारका गतिविधिबारे जनतामाझ पार्टीको धारणा प्रस्तुत गर्दै राष्ट्रियता र जनतन्त्रका पक्षमा जनमत निर्माण गर्ने निर्णय गरेको छ। प्रदेश तथा स्थानीय तहका पार्टीका जनप्रतिनिधिले गरेका कामको एकीकृत प्रतिवेदन पार्टी समितिमा पेस गर्नुपर्ने व्यवस्था गर्ने निर्णयसमेत गरिएको छ।
यसैगरी, समाजवादी कार्यदिशा, सत्ता अभ्यास, कृत्रिम बौद्धिकता (एआई) र प्रविधिसम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने तथा वामपन्थी र लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य र संयुक्त मोर्चा निर्माणको पहल गर्ने विषयमा पनि बैठकले निर्णय गरेको छ।
पार्टीको आर्थिक पारदर्शिता, कार्यालय व्यवस्थापन र संस्थागत कार्यक्षमता अभिवृद्धि गर्ने निर्णय गरेको बैठकले जिल्ला समितिको समीक्षा बैठक आगामी पुस ११ गते सर्केगाडमा आयोजना गर्ने तय गरेको छ।
पत्रकार सम्मेलनमा जिल्ला संयोजक रोकायाले राष्ट्रिय जागरण अभियानमार्फत पार्टी सदस्यता वृद्धि, जनसम्बन्ध विस्तार र संगठन निर्माणलाई गति दिँदै निर्धारित समयमै वडा तथा पालिका अधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
