ताँजाकोटको शैक्षिक सप्ताहः ५५ प्रतियोगितामा १२ विद्यालयका १२०० विद्यार्थी सहभागी, धर्मोदय मावि उत्कृष्ट ।।


हुम्लाको ताँजाकोट गाउँपालिकामा सञ्चालित गाउँपालिका अध्यक्ष शैक्षिक गुणस्तर तथा अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम–२०८३ सम्पन्न भएको छ ।

गाउँपालिकाभित्रका विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि तथा सर्वाङ्गीण विकास गर्ने उद्देश्यले मङ्सिर ६ गतेदेखि धर्मोदय माध्यमिक विद्यालय छप्रेलामा सुरु भएको सप्ताह चार दिनमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । कार्यक्रमको कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाहीले उद्घाटन गर्नुभएको थियो ।

सप्ताहमा गाउँपालिकाभित्रका १२ विद्यालयका झन्डै एक हजार २०० विद्यार्थी सहभागी भएका थिए । विद्यालयबीच शैक्षिक तथा अतिरिक्त क्रियाकलापसम्बन्धी ५५ वटा प्रतियोगिता सञ्चालन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जयरुद्र ढकालले बताउनुभयो । विद्यालयको नियमित पठनपाठनलाई असर पर्ने भएकाले निर्धारित समयभन्दा छिटो सबै प्रतियोगिता सम्पन्न गरिएको उहाँले बताउनु भयो ।

प्रतियोगितामा प्राप्त अङ्कका आधारमा धर्मोदय माध्यमिक विद्यालय ६४ दशमलव २२ प्रतिशतसहित प्रथम भएको छ । कैलाश आधारभूत विद्यालय ६१ दशमलव ९० प्रतिशतसहित द्वितीय, चन्द्रप्रकाश माध्यमिक विद्यालय ५० प्रतिशतसहित तृतीय र छायाक्षेत्र आधारभूत विद्यालय ३३ दशमलव ३३ प्रतिशतसहित सान्त्वना भएका छन् । उत्कृष्ट विद्यालयलाई क्रमशः एक लाख ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा शैक्षिक सत्र २०८३ को गाउँपालिका स्तरीय वार्षिक परीक्षा तथा कक्षा १० को टेस्ट परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने ३३ विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरूलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँका दरले पुरस्कृत गरिएको बताउनु भयो ।

यसैगरी, शैक्षिक सत्र २०८२ को सिकाइ उपलब्धिका आधारमा उत्कृष्ट शिक्षक, विद्यालय, प्रधानाध्यापक र विद्यार्थीलाई पनि सम्मान गरिएको छ । १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लामा प्रथम भएको छात्र भलिबल टोलीका नौ खेलाडीसहित स्वर्ण पदक प्राप्त गर्ने अन्य विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ । ५५ वटै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने झन्डै ३०० विद्यार्थीलाई समेत पुरस्कार वितरण गरिएको शाखा प्रमुख ढकालले बताउनुभयो ।

सोही अवसरमा गाउँपालिका र कर्णाली प्रदेश सरकारको सहयोगमा धर्मोदय माध्यमिक विद्यालयमा निर्माण गरिएका नौ कोठे तीनवटा भवनको मुख्यमन्त्री शाहीले उद्घाटन गर्नुभएको थियो ।

शिक्षा क्षेत्रको गुणस्तर सुधारमा योगदान पुर्याएको भन्दै गाउँपालिका कार्यपालिकाका सम्पूर्ण पदाधिकारीलाई समेत सम्मान गरिएको छ । कार्यक्रमले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै खेलकुद, सिर्जनात्मक क्षमता र प्रतिभा पहिचानमा सहयोग पुग्ने अपेक्षा सहित हरेक वर्ष यो सप्ताह मनाउदै आएको र यसले गाउँपालिका भरिका सबै विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई थप उत्साह बढेको धर्मोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक गंगादत्त जैसीले बताउनु भयो । खासगरी यस किसिमको शैक्षिक सप्ताह जिल्लाकै नमुनायोग्य देखिएको छ ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     १२ मंसिर २०८३, शुक्रबार १३:०९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *